अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ। उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावकबीच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो ।

बालबालिकामा निर्धारित पाठ्यपुस्तकबाहेक पठन संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लेखक नीलम कार्की निहारिका र बुद्धिसागरसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो भने प्रमुख अतिथि चर्चित हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले पनि आफ्नो अनुभव सुनाए ।अन्तरक्रियामा लेखकहरुले व्यावहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तक बढी आवश्यक भएको धारणा राखे । बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिनु आवश्यक भएपनि हालसम्म बाल तथा किशोर साहित्यसम्बन्धी साम्रगी सहज उपलब्ध नहुनु दुःखद् रहेको उनीहरुले बताए । यसैबीच अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताइन् ।