भारतले दियो नेपाललाई २०० डायलासिस मेसिन 

भारत सरकारले सहयोगस्वरूप नेपाल सरकारलाई  २०० मिर्गौला डायलासिस मेसिन उपलब्ध गराएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच स्वास्थ्यमन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरे । करिब एक वर्षअघि नेपाल सरकारले भारतसमक्ष मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो ।

मेसिन उपलब्ध गराएकामा मन्त्री गिरीले भारत सरकारप्रति आभार व्यक्त गरे । ०७२ सालमा गएको विनाशकारी भूकम्प र कोरोना संकटका बेला पनि भारतले गरेको मानवीय सहयोग नेपाल र नेपाली जनताले सदा स्मरण गरिरहने उनले उल्लेख गरे ।

राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी मेसिन हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.