” दुधको मुल्य बढाउनुभन्दा लागत घटाउन लाग्नुपर्छ”

हरेक कुराको मुल्य बढ्दै गएको बेला दुधको मुल्य पनि बढ्नु पर्‍यो भनि सरोकारवाला सबैले सम्बन्धित निकायमा धेरै पटक अनुरोध गर्दा भर्खरै मन्त्रिपरिषद्को बैठकले प्रति लि. ९.१ रुपैयाँ बढाउने निर्णय गरेको छ । तर यो मुल्य वृद्धिले उद्योगले पाउने र उपभोक्ता मुल्यको बारे भने केहि कुरा बोलेको छैन ।

यसले गत समयकोभन्दा अलि अन्योलता निम्ताएको छ । सरकारको यो निर्णयसँग अब दुधको मूल्य प्रतिलिटर ६५.५ रुपैया किसानलाई पुग्ने भएको छ । यस अघि दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ किसानले पाउने कुराको निर्णय भएको थियो । सबै सरोकारवालाहरुलाई समाबेश गरि मन्त्रालयको निर्देशनमा राष्ट्रिय दुग्ध विकास बोर्डले बनाएको समितिले तयार पारेको लागत अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो । तर समितिले प्रस्ताव गरेभन्दा फरक तरिकाले मुल्य बढाएको छ । समितिको अनुसार रु १० /- बढाउने र त्यो बढेको मध्ये ७० प्रतिशत किसानले पाउने र ३० प्रतिशत उद्योगले पाउने प्रस्ताव भएकोमा हाल बढेको रकम किसानलाई मात्र भनि बढेकोले अफ्ट्यारो अवस्था सृजना भएको छ । अहिले बढेको मूल्यसँगै अब किसालने प्रतिलिटर ६५.५ /- रुपैयाँ न्युनतम पाउने छन् । अब उपभोक्ताले भने कति रुपैयाँ तिर्नु पर्ने हो त्यो डिडिसि र निजि डेरी एसोसिएसनहरु मिलेर तोक्ने छन् । तर यसो गर्नुभन्दा सरकारले नै तोकेको भए सबैलाई सहज हुने थियो । दूधको मूल्य बढाउनु पर्ने कुरा उद्योगी र किसानहरुले निरन्तर आवाज उठाइरहेका थिए । हरेक दुई–दुई वर्षमा दुधको मूल्य बढाउने व्यवस्था गरिएको भए पनि किसानको लागत बढेको भन्दै सरकारले एक वर्षमा नै दूधको मूल्य बढाएको कुरामा कतै कतै कुरा उठाए पनि त्यो वास्तविक नै भएको कुरा सबैको मनमा रहेको छ । हरेक कुराको मुल्य बढ्दा दुधको मात्र मुल्य नबढ्दा किसान र उद्योग मारमा परेका थिए । पछिल्लो पटक गत वर्ष माघ २८ गते दूधको मूल्य बढेको थियो । त्यतिबेला मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढेको देखिन्छ । उद्योगीले पाउने मूल्यमा भने ७९ प्रतिशतले बढेको देखिन्छ । तर यसरी हेर्दा प्रत्येक पटक बढेको मुल्यले उद्योगलाई भने खासै फाइदा भएको देखिंदैन । जबसम्म उद्योग र किसानलाई समान फाउदा हुँदैन तबसम्म डेरी व्यवसाय फस्टाउन गार्‍हो छ। अहिले बढेको मुल्यले यदि किसानको लागत घटाउन सकिएन भने कसैलाई कुनै फाइदा हुने छैन । प्रत्येक पटक दुधको मुल्य बढ्ने बितिक्कै दाना, चोकर लगायत सबै कुराको मुल्य तुरुन्तै बढ्छ। अनि यो मुल्य बढ्नु नबढ्नुको कुनै अर्थ हुँदैन । अर्को कुरा अब हामी दुधको मुल्य बढाउन लाग्नुभन्दा पनि लागत कम गर्नतिर लाग्नुपर्छ । होइन भने आयातित बस्तु सस्तो हुन गई हाम्रा उत्पादित बस्तु महँगो भई उपभोक्ताले उपभोग गर्न कम गर्न सक्नेछन् । यसले हामी सबैलाई नोक्सान पुर्‍याउँछ । हाम्रो देशबाट अर्बौंको छुर्पी निर्यात हुन्छ । अब मुल्य बढेपछि छुर्पीको लागत पनि बढ्न गई निर्यातमा कम हुनसक्छ । त्यसले हामीलाई ठूलो नोक्सान पुर्‍याउन सक्छ । यसको बारे हामीले सोच्नुपर्ने हुन्छ । यस्ता बिदेश निर्यात हुने बस्तुलाई राज्यले पनि अनुदान वा अन्य कुनै किसिमका सुविधा दिई लागत कम गराई सहयोग पुर्‍याउन सक्दा मात्र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिन्छ । यसले विदेशी मुद्रा आर्जन गर्न ठूलो सहयोग पुगेको छ । मुल्य बढाउनु मात्र समस्याको समाधान होइन । अबको हाम्रो लक्ष्य भनेको उत्पादन लागत कसरी घटाउने भन्ने हुनुपर्छ, अनि मात्र हामी विश्व बजारसँग सहज रुपमा प्रतिस्पर्धा गर्न सक्छौं ।

प्रल्हाद दाहाल

अध्यक्ष : नेपाल डेरी एसोसिएसन

Leave a Reply

Your email address will not be published.