बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ ।
लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, ‘हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।’ उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ ।
लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।