आउँदो मंसिर ४ मा हुन लागेको निर्वाचनमा ललितपुर २ बाट लौरो चुनाव चिन्ह लिएर प्रतिनिधिसभा उम्मेदवार बनेका दन्त चिकित्सक सुदिन शाक्य यतिखेर घरदैलो कार्यक्रममा जुटेका छन् । उनको यो कार्यक्रममा व्यापक रुपमा जन सहभागिता समेत देखियो।
उनका चुनावी एजेन्डामा जाने हो भने सुशासन, स्वास्थ्य क्षेत्रको सुधार, खानेपानी, प्रदूषण नियन्त्रण, सम्पदा संरक्षण, पर्यटन लगायतका छन् ।
नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य उपचारको व्यवस्था गर्नसके वर्तमान समयमा देखिएका धेरै विकृतिहरु आफैं हराएर जाने उनी बताउँछन्। त्यसैले उनले ललितपुर २ मा चारवटा सुसम्पन्न शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना बनाएका छन्। त्यस्तै, ‘ललितपुर क्षेत्र नं २ सांसद स्वास्थ्य सेवा अक्षय कोष’ स्थापना गर्ने उनको योजना छ। एक करोड रूपैयाँ राखेर प्रारम्भ गरिने यस अक्षय कोषले पैसा तिर्न नसकेर उपचारबाट वन्चित भएका नागरिकको उपचारमा आर्थिक सहयोग गर्ने लक्ष्य उनको छ।


आखिर उनको पूरा परिचय के हो ?
विक्रम संवत २०३३ सालमा ललितपुरको तलाछेँ नागवहालमा जन्मिएका शाक्य नेपालमा मात्रै नभएर विदेशमा समेत ख्यातिप्राप्त व्यक्ति हुन् ।। अरूलाई सहयोग गर्न तम्सने स्वभावले नै उनलाई यो ख्याति दिलाएको हो। २०४८ सालमा अरनिको माध्यमिक बिद्यालय खुमलटारबाट एस.एल.सी पास गरेपछि २०४९ सालमा उनी अस्कल क्याम्पसमा भर्ना भएका थिए। अस्कल क्याम्पसबाट आई.एस्सी पूरा गरेपछि उनले चिकित्सा क्षेत्रमा अध्ययन थाले।
साउथ वेस्टर्न युनिभर्सिटी सिबु सिटी फिलिपिन्समा पढ्दा त्यहाँ रहेका नेपाली तथा अन्य बिदेशी बिद्यार्थीहरुको स्वास्थ्य तथा इमिग्रेसनको समस्या समाधानमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए। जसकारण, सन् २००१ मा साउथ वेस्टर्न युनिभर्सिटी सिबु सिटी फिलिपिन्सको दिक्षान्त समारोहमा उनलाई बेष्ट फरेन स्टुडेन्ट अवार्डसमेत दिइएको थियो।
सन् २००१ मा दन्त चिकित्सकको डिग्री हात पारेर नेपाल फर्किएलगत्तै नेशनल डेन्टल अस्पतालमा उनले काम थालेका थिए। यही समय उनले रोटरी क्लव अफ पाटन साउथको सदस्यता पनि लिए। लगत्तै उनलाई नेपाल ओरल हेल्थ अवार्नेश प्रोग्रामको फिल्ड कोअर्डिनेटरको जिम्मेवारी दिइयो। यसपछि उनी देशभरका विभिन्न विद्यालय र समुदायमा मुख दन्त तथा स्वास्थ्य जनचेतना फैलाउन लागी परिरहे।
उनले रोटरी क्लव अफ पाटन साउथको अध्यक्षका रुपमा सेवा गरिसकेका छन्। उनी सन् विगत आठ वर्षदेखि एसिया प्यासिफिक डेन्टल फेडेरेशनको काउन्सिल सदस्यसमेत रहेका छन्।
शाक्य भन्छन्, ‘२२ वर्षदेखि मैले विभिन्न कामहरु गरेँ। अहिले देशको जुन अवस्था छ, त्यो देखेर म पेशा, व्यवसाय र समाजसेवामै मात्र रमाइरहन सकिनँ। परिवर्तन सबैको साझा एजेन्डा हो। र, देशको समग्र परिवर्तनका लागि राजनीतिले नै मुख्य भूमिका खेल्छ। त्यसैले निर्वाचनमा होमिएको हुँ।’



