धमाधम आउँदै रासायनिक मल, ४ महिनामै भित्रियो डेढ लाख मेट्रिक टन

चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमा १ लाख ३० हजार मेट्रिक टन रासायनिक मल भित्रिएको छ । कृषि सामग्री कम्पनी एक्लैले चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा १ लाख ३० हजारभन्दा बढी रासायनिक मल ल्याएको हो । यससँगै विगत लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानले यसपटक भने सहज रूपमा मल पाउन थालेका छन् । 

कम्पनीले डीएपी र युरिया गरेर उक्त परिमाण बराबरको मल ल्याएको प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले जानकारी दिए । उनले साउन महिनादेखि नै धमाधम रासायनिक मल आइरहेकाले बजारमा अघिल्ला वर्षहरूको जस्तो अभाव नरहेको बताए । कम्पनीसँग हाल २२ हजार ५०० मेट्रिक टन डीएपी मल मौज्दात छ । यस्तै, ३ हजार ५०० मेट्रिक टन पोटास समेत मौज्दात रहेको कार्कीको भनाइ छ ।यसबाहेक थप २ हजार ५०० मेट्रिक टन मल आइरहेको कम्पनीले जनाएको छ । ‘२५ सय मेट्रिक टन युरिया मल आइरहेको छ,’कार्कीले भने– ‘निर्वाचनका कारणले उक्त मल ल्याउन पाइएको छैन । निर्वाचन सकिए लगत्तै नेपालको सीमातर्फ छिर्छ ।’ ग्लोबल टेण्डरमार्फत ल्याउन लागिएको उक्त युरिया मलसमेत धमाधम आउन थालेको कार्कीले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल चाहिन्छ । यस्तै, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका अनुसार वर्षमा १२ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । यसअनुसार, नेपाललाई पर्याप्त मल नआएपनि कम्पनीले ल्याएको मलले अभाव टारिरहेको बताइएको छ ।

यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक कार्कीले अन्तर्राष्ट्रिय बजारको मूल्यको तुलनामा सस्तो भाउमै रासायनिक मल आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य प्रति मेट्रिक टन १२ सय डलर पर्छ । तर, नेपाल आइरहेको मलको मूल्य प्रति मेट्रिक टन ९०० डलरसम्म रहेको बताइएको छ । यसअनुसार,अन्तर्राष्ट्रिय बजार भाउ भन्दा सस्तोमै नेपालले मल ल्याइरहेको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *