काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको ए डिभिजन लिग फुटबलको तयारी तीव्र बनाइएको छ । एन्फाका अनुसार लिगका लागि सहभागी हुन १४ वटा क्लबले क्लब दर्ता गराएका छन् ।
जसअनुसार एन्फाले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रमथ किस्ता स्वरुप जनही रु १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनले क्लबहरुलाई खेलाडी दर्ताको लागि यही माघ २९ गतेसम्मको मिति तय गरिएको पनि जनाए । फागुन १९ गतेदेखि हुने लिगमा डबल राउन्ड रोबिनको आधारमा १८२ खेलहरु खेलाइनेछ । ती खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिनेछ ।
लिगमा प्रथम हुने टिमले नगद रु ७५ लाख, द्धितीय हुनेले रु ५० लाख र तृतीय हुनेले रु २५ लाख पुरस्कार स्वरुप पाउने छन् । यस्तै लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ भने प्रतियोगितको सवोत्कृट खेलाडीलाई रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ ।त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ–दुइ लाख पुरस्कार उपलब्ध गराइने छ। लिगको एक उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइने पनि एन्फाले जनाएको छ । हरेक खेलको विजेता टोलीलाई थप नगद रु ५०,००० पुरस्कार पनि दिइने छ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान रु २५,००० दिइने छ । हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप रु १०,००० दिइने छ । शहिरु स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब रु १२ करोड रहेको छ।