इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । सोही कारण टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको छ ।
उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्प पीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् ।