गाड्यौ खाडलमा म बीज वनको मौका मिल्यो उम्रिएँ
कुल्च्यौ मस्त हिड्यौ डुल्यौ म जिउँदै दूबो थिएँ घुम्रिएँ
थुप्रो थेँ हिउँ डाहले नजिकमा आयौ पगाल्यौ तर
जम्दा ताल भएँ झरेर झरना जे जे बनेँ सुन्दर
ठण्डा याम हुँदा चिसो शिशिरमा लुक्थेँ कतै सापझैँ
सुख्खा याम भए म बूँद जलको जोगाउँथेँ कापमै
सारा सीप सिकेँ अभाव सहँदै बन्दै गएँ मौलिक
बाधा जागिरमा दियौ र म भएँ उद्योगको मालिक
खेद्यौ आश्रयबाट सुन्दर यतै झुप्रो बनाएँ बसेँ
खैँचेँ कर्मठ पाखुरा अझ घुँडा कर्तव्य मानी धसेँ
छेकेथ्यौ पथ बाध्य भै प्रगतिको बाटो समातेँ यता
गर्थ्यौ वैगुन नै सधैँ गुन भयो नाचेँ खुशीले म ता
फाल्यौ सागर भित्र मस्त गहिरो मोती टिपेँ फर्किएँ
खानी प्राप्त भयो लडेर पहिरो बोकेँ जहाँं जे थिए
बाल्यौ अग्नि धुवाँ भएँ भ्रमणमा निस्केँ घुमे विश्व यो
मेरो भाग्य सधैँ रहेछ बलियो बाटो नयाँ भेटियो
हे वैरी कति सत्य छौ असल छौ सम्मुख दागा धर्यौ
जस्तो रीस उठ्यो उसै समयमा डुक्र्यौ मुखेन्जी पर्यौ
दोसल्लासित काँधमा झिलिमिली माला र खादा गरी
वैरी भैकन दैव हौ असल हौ सम्मान लेऊ हरि
गणेशप्रसाद खतिवडा
थुलुङ दूधकोशी गा.पा.
वडा नं – ३, पञ्चन
सोलुखुम्बु
नोट :- कवि गणेशप्रसाद खतिवडा अलमाइटी आइडियल मोडर्न स्कुल, गोकर्णेश्वर-७ का प्रिन्सिपल, संस्थागत विद्यालय संघ नेपाल (इसान)का महासचिव तथा “छन्द लोचन” साहित्यिक त्रैमासिक पत्रिकाका प्रधान सम्पादक समेत हुनुहुन्छ ।