आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

ओपनर आसिफ शेख र सन्दीप लामिछानेले आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ ।

ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । ब्याटिङमा नेपालको सुरुवात निकै खराब थियो । इनिङको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । सातौं विकेटका रुपमा कुशल मल्ल २३ रनमा आउट भएपछि सन्दीप ब्याटिङमा आएका थिए । प्रशिक्षक मोन्टी देशाईले यूएईविरुद्ध आक्रामक ब्याटिङ गरेका सन्दीपलाई करण केसी र सोमपाल कामीभन्दा अगाडि पठाएका थिए । सन्दीपले क्रिजमा टिकेर खेलिरहेका आशिफलाई साथ मात्र दिएनन्, आक्रमक ब्याटिङलाई निरन्तरता दिए । दुबैले आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारी गरे ।

यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सोमपाल कामीले लिग टूमा स्कटल्याण्डविरुद्ध अविजित ५५ रनको साझेदारी गरेका थिए । १३० बल सामना गरेका आसिफले २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन बनाए । सन्दीपले ५० बलमा ३ चौकासहित अविजित ३५ रन बनाए । नेपालका अरु ब्याट्सम्यानले भने दोहोरो अंकसमेत जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरी र भीम सार्की समान ८/८ रनमा आउट भए, ज्ञानेन्द्र मल्लले ६ रन बनाए भने कप्तान रोहितकुमार पौडेल र आरिफ शेखले १–१ रन बनाए । कुशल भुर्तेल शून्यमै आउट भए ।पीएनजीका लागि कप्तान असद भालाले ३ तथा सेमो कामिअ र सेसे बाउले समान २/२ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएको थियो । टिमका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे । नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले आफ्नो नाममा एक एक विकेट लेखाए ।

Leave a Reply

Your email address will not be published.