गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए सपथ, दुई मन्त्रालयको जिम्मा महिलालाई

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रवार उनले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाए ।

मुख्यमन्त्रीले माओवादी केन्द्रबाट सुशीला सिम्खडा र नेपाली कांँग्रेसबाट सरस्वती अर्याल तिवारीलाई विना विभागिय मन्त्री नियुक्त गरे । यो संगै गण्डकी प्रदेश सरकारमा एकैचोटी दुई महिला मन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट विना विभागीय मन्त्रीको सपथ लिएसंगै मन्त्री सुशीला सिम्खडाले आफ्नो कार्यकालमा जिम्मेवारी र कर्तव्यलाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

त्यस्तै, केन्द्रको निर्णयमा बनेको सरकारले प्रदेशबाटै मन्त्रालयको बाँडफाटलाई दुई तीन दिन भित्रमा टुंग्याएर सरकारलाई पूर्णता दिने माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानको भनाइ छ । तर उनले कसले कुन मन्त्रालय लिने भन्ने कुरा स्पस्ट भइनसकेको बताए ।

‘कस्ले कति मन्त्रालय पाउने भन्ने विषय टुंगिएको छैन् । अहिले नीति कार्यक्रम बजेट निर्माणको बेला छ । यसमा लामो समय लिनै हुन्न,छिटोभन्दा छिटो टुंगिन्छ ।’ चुमानले भने ।

पाण्डे बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनी संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका थिए । गण्डकीमा कांँग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने केन्द्रमा सहमति भए अनुसार नै पहिले कांग्रेसले मुख्यमन्त्री पाएको हो । ६० सदस्यीय प्रदेश सभामा उनलाई कांग्रेसको २७, माओवादीका ८ र एकीकृत समाजवादीका एक जना गरी ३५ सांसदको समर्थन रहेको छ । प्रदेशसभामा नेकपा एमालेको २२ र राप्रपाको २ गरी २४ जना सांसदले प्रतिपक्षको भूमिका निर्वाह गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.