नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान व्यापक रूपमा घट्दै गएको देखिएको छ । आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणमा आव २०७०/०७१ मा जीडीपीमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेको उल्लेख छ ।
त्यसयता आर्थिक वर्ष २०७९/०८० सम्म आइपुग्दा दुई वर्षबाहेक निरन्तर कृषि क्षेत्रको योगदान घट्दै गएको छ ।दश वर्षको अवधिमा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा मात्रै जीडीपीमा कृषि क्षेत्रको योगदान बढेको छ । तर, समग्रमा १० वर्षको अवधिमा जीडीपीमा कृषिको योगदान घटेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।