महिलाहरुको मासिक धारा 

महिलाहरुको जीवनमा मासिक धारा एक महत्वपूर्ण प्राकृतिक प्रक्रिया हो। यो विषयमा नेपालमा अझै सामान्यतः चर्चा गर्ने अवस्था नै छ। यसलाई समाजमा एक नया दृष्टिकोणले जानकारी ल्याई महिलाहरुलाई सहज रूपमा बोल्न र हाम्रो कर्तब्य बारे जानकारी गराउँदै आफ्नै घरमा घटिरहेको घटना यो लेखद्वारा प्रस्तुत गर्दछु। 

हरेक महिनावारीमा बाच्ने आश छोडेकी मेरी बहिनी कम्मरमा आमाको पटुकी बाँधेर, चाउचाउको सुप खादैँ, पेटमा हट वाटर ब्याग लियर बसेकी छिन्। अर्थात महिनावारीकै समयमा पहिलो पटकको महिनावारीसँग डराएको उनको मन, कहालि लाग्दो अनुभव सम्झिदानै जिउ सिरिङ्ग हुन्छ। उनी जस्तै कयौँ महिलाले महिनावारीको समयमा बाच्नका लागि जुटाउनु परेको साहासको बारेमा म यो लेख लेख्दै छु।

उनलाई अझै याद छ उनी पहिलो पटक महिनावारी हुदाँ आफू महिनावारी भएको थाहानै पाएको थिइनन्। न कहिले आमाले महिनावारीको कुरा खुलाउनु खोज्नु भयो न त यो विषय हाम्रो पाठ्यक्रममा नै समाबेश थियो। स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा नामको पाठ्य पुस्तकमा, स्वास्थ्य शिक्षा अन्तर्गत यौन स्वास्थ्थ र किशोरी स्वास्थ्यका कक्षाहरु रातो गाला बनाएर भुईतिर हेरेर बस्दाबस्दै सकिन्थ्यो। शिक्षकले पनि किशोरी शिक्षाप्रति मौनताको बारेमा बुझ्ने जमरकोनै गर्नु भएन।

पछि उनले लगाएका लुगामा लागेको रगतले आफू पहिलो चोटी महिनावारी भएको संकेत गरेको थाहा पाएकी थिइन्। थाहापाउने बितिकै डरले उनको शरिर पुरै चिसिएर आएको थियो। उनको मनभित्र महिनावारी बारे प्रश्नहरुको सुनामिका साथसाथै भयानक वादविवाद नै चक्रियो। प्रश्नहरुको जोड्तोड्को बीचमा टुप्लूक्क आमा आउनुभयो। आतिएको उनको मन र रसाएका आँखा देखेर आमाले उनी महिनावारी भएको कुरा थाहा पाउनु भयो। 

हाम्रो हिन्दु परम्परा भनौ कि रुढीवादी संस्कृति, पहिलो महिनावारीमा दाजु, बाबाको अनुहार हेर्न नहुने, घामको मुख देख्न नहुने त्यसैले त्यही दिन आफ्नो घरबाट टाढा आफ्न्तको घरमा लगेर बहिनीलाई छोड्नु भयो। तीन दिन सम्म घामको किरण पनि देख्न नपाएकी उनी, प्याडको प्रयोग गर्न नजानेर कपडै भरि रगतका धारा बगेर उनको मन झनै आतियो। विद्यालयका साथीहरु भेट्न आउदा लजाएर भागेकी उनलाई, सबै भन्दा हृदय विदारक आमाको स्यार र ममताको कमीको महसुश खड्किएको थियो। ती दिनहरु सम्झदा अझै पनि उनको मन भक्कानिएर आउछ। 

महिनावारी पछि पहिलो चोटी उनी विद्यालय जाँदा साथीहरुले जिस्काउदा खुब लाज लागेको थियो। हरेक महिनामा एक दिन विद्यालय नजानुको कारण शिक्षक साथीलाई पहिले नै थाहा हुन्थ्यो। पेट दुखाईको दिन खाना नरुच्ने, रिस उठ्ने, रुन मन लाग्ने, केही काम गर्न नसक्ने र त्यो दिन कटाउन पाए नयाँ जीवन नै प्राप्त हुन्छ कि भन्ने आशा पलाउने जस्ता पीडादायी अवस्था झेल्न बानी परेको थियो। कक्षाकोठामा रहदाँ गुरुले अगाडि बोलाएर पढ्न लगाउदा मुटुले ठाउ छोड्थ्यो। विद्यालयको पोशाकमा रगतको दागहरु लाग्दा झोलाले छोपेर अनेकन वाहाना बनाएर विद्यालयबाट घर फर्कनु पर्दाको क्षण कम पीडादायी थिएन। 

त्यो महिनावारी नबुझ्दै भएको महिनावारीलाई सम्हालन नसकेको कलिलो उमेरमा रिस उठ्ने, मूड स्विङस हुने, हरेक महिनामा एक दिन विद्यालय छोड्नु परेको पिडा, असैय पेट दुखाईले बाच्ने साहास त्यागेको मन जस्ता अप्ठ्यारो परिस्थितिको सामना गर्न उनको मन र मष्तिस्क हरेक महिना तयारी अवस्थामा रहन्थ्यो।

महिनावारी हुदाँ हर्माेनको उतारचडाबका कारण शारिरिक तथा मानसिक परिवर्तनहरु हून्छन। यी सबै सामान्य कुरा हो भनेर त्यो समयमा उनलाई कसैले सिकाएको भए सायद महिनावारी हुदाँ त्रासित वातावरण नै सिर्जना हुदैनथियो होला।

चाड पर्वमा महिनावारी हुदाँ आफू अलगै बस्नु पर्ने, ५ दिन अगाडि सम्म भान्सा कोठामा छिर्न नहुने, घरमा कहिलेकाही पानी दिने मान्छे नहुदाँ मर्नु भन्दा बौलाउन बेस भनेझै उनीले आफैँ भान्सा भित्र छिरेर पानी पनि खाइन् ।

यस्तो अवस्थामा पनि समाजले महिनावारीका अवोधपन र दुखाईका चित्कारलाई सुन्ने प्रयत्नै गरेन। छिछि दुरदुरसहितको अन्धविश्वास गर्दागर्दै कति छोरीले महिनावारीमा आफ्नो ज्यान नै गुमाउनु परेको पत्तै पाएन। 

महिनावारी हुदाँ आउने शारिरिक तथा मानसिक परिर्वतन बारे घरका हरेक सदस्यले बुझाउन सक्नु पर्छ। यो समयमा महिलालाई घर परिवारले नै सजक वातावरण र्सिजना गरिदिनु पर्छ ताकि समाजमा जरो गाढेको कुरीतीले पनि उस्लाई केही फरक पार्न नसकोस्। विद्यालय जादाँ निर्धक्क भएर जान सकियोस, बेन्चमा लागेको रगतले घर फर्कनका लागि बाहना बनाउन नपरोस, कपडमा लागेको रगतका दागहरुले उन्का आत्मा विश्वासलाई नगलाओस, पहिलो महिनावारी उत्सव सम्झेर मनाइयोस, पसलबाट दाजु बाबाले छोरीको लागी प्याड ल्याउन नहिचकिचाउन्, प्याडको प्रयोग गर्न राम्रोसँग सिकाइयोस्, पोसिलो खाना खुवाइयोस्। यति भन्न सक्नु भो भने तपाईका छोरी, बहिनिलाई पहिलो महिनावारीको समयमा विभिन्न शारीरीक समस्यका साथमा ठूलो मानसिक तनावबाट समेत बच्न निकै सजिलो हुनेछ। साथै दीर्घकालमा जटिल रोगहरु लाग्नसक्ने खतरा समेत अवश्य कम हुन्छ। 

यी कुरा समाजले समयमै बुझ्न महिलाहरुले अझै कतिवटा स्यानिटरी प्याड दाग लगाउनु पर्छ होला ?

साना नानीहरुलाई महिनावारी कुनै ठूलो हाउगुजी नभइ सामान्य प्राकृतिक प्रकिया हो भनेर सम्झाउन सक्नु पर्छ ताकि उनलाई महिनावारीको समयमा हुने शारिरिक तथा मानसिक तनावमा अलिक सहज महसुस होस्। विद्यालयमा शिक्षकले बिनासंकोच किशोरी स्वास्थ बारे विद्यार्थीहरुलाई पढाउनु पर्छ ताकी विद्यार्थीहरुले केही हिचकिचाहट बिना आफूलाई मन लागेका प्रश्नहरु सोध्न सकुन्।

हरेक विद्यालयमा महिनावारी बारे पाठ्यक्रममा समावेश गरि शिक्षकहरुले विद्यार्थीहरुलाई बिनासंकोच पढउनु पर्छ। महिनावारीको रगत सृष्टि लेख्ने मसीको थोपा हो त्यसैले महिनावारीलाई उत्सवको रुपमा मनाउनु पर्छ।

– विजय चापागाईं 

Leave a Reply

Your email address will not be published. Required fields are marked *