एमेच्योर ओपन गल्फः नेपाललाई टिम स्पर्धामा स्वर्ण, भारत १४ स्ट्रोकले पराजित

नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताअन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ।

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र सद्भव आचार्यको जोडीले दोस्रो दिन आज ७-अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७-अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

आज सुवासले ४-अन्डर ६८ र सदभावले ३-अन्डर ६९ स्कोर गरे । सुवास र सदभावले यसअघि गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसीपमा पनि टिमतर्फ स्वर्ण पदक जितेका थिए।

समग्रमा ३-अन्डर २ सय ८५ सहित भारतले रजत पदक प्राप्त गर्यो । आज सुमित कोटवालले ८-अन्डर ६४ र सुरज जोशीले २-ओभर ७४ स्कोर गरे । यो जोडीले आज भारतको लागि ६-अन्डर १ सय ३८ स्कोर जोड्दै दोस्रो स्थान प्राप्त गरेको हो।

समग्रमा ५-ओभर २ सय ९३ सहित भुटानले कास्य पदक जित्यो । आज ७-ओभर १ सय ५१ स्कोर बनाउने क्रममा उगेन दोर्जीले १-अन्डर ७१ र कर्मा दोर्जी खोर्कोले ८-ओभर ८० मा खेल सकाए ।

प्रतियोगिताको व्यक्तिगततर्फ भारतीय सुमित कोटवाल ८-अन्डर ६४ को सानदार स्कोरमा शीर्षस्थानमा छन् । उनले समग्रमा १२-अन्डर १ सय ३२ सहित पहिलो दिनका लिडर नेपालका सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे । ४-अन्डर ६८ को कार्ड बनाएका सुवाशले समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर बनाउँदा दोस्रो स्थानमा झरे । राष्ट्रिय टिमका सदस्य सद्भव आचार्यले आज ३-अन्डर ६९ को स्कोर निकाले । समग्रमा ७-अन्डर १ सय ३७ सहित उनी तेस्रो स्थानमा छन् ।

भुटानका उगेन दोर्जी समग्रमा ४-अन्डर १ सय ४० सहित चौथो, नेपालका टासी छिरिङ र भारतका बरूण मुथप्पा समग्रमा २(अन्डर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थानमा छन्। यस्तै नेपालका वाङचेन ढोन्डुप र बंगलादेशका मोहम्मद सुमोन समग्रमा १-ओभर १ सय ४५ सहित सातौं तथा पाकिस्तान उमैर सलिम र नेपालका टासी डोङले समग्रमा ५-ओभर १ सय ४९ स्कोरका साथ संयुक्तरुपमा नवौं स्थान बाँडे ।

भारतका सुमितले बोगी रहित ८-अन्डरको स्कोर बनाउँदा फ्रन्ट र ब्याक नाइन दुवै ४-अन्डर ३२ मा सकाए। उनले दोस्रो, चौथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे । त्यसपछि उनले १०औं, १४औं, १५औं र १८औं होलमा पनि एक-एक सट बचा ए।

सुवाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा पूरा गरे। पहिलो होलमा बोगी खेपेका उनले ५-पारको तेस्रो होलमा ईगलको सफलता प्राप्त गरे । सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । यसपछि ११औं, १४औ र १८औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे ।

सद्भवले बोगीरहित राउण्ड खेले । फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३६ मा सकाए। उनले तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइनको सबै होलमा पार बचाए ।

महिलातर्फ कश्मीरा शाहले ८-ओभर ८० स्कोर गरिन् । समग्रमा १४-ओभर १ सय ५८ सहित शीर्षस्थानमा उक्लिएकी छिन् । उनले पहिलो दिनकी लिडर सुष्मा सिग्देललाई ३ स्ट्रोकले पछि पारेकी छिन् । सुष्माले आज १२-ओभर ८४ स्कोर गर्दा समग्रमा १७-ओभर १ सय ६१ मा ३६ होलको खेल पुरा गरिन् । १४-ओभर ८६ सहित समग्रमा ४०-ओभर १ सय ८४ सहित तेस्रो स्थानमा रहेकी छिन् ।

३६ होलको समाप्तीमा २०-ओभर १ सय ६४ सम्मको स्कोर बनाएका ३० खेलाडीले कट बनाएका छन् । जसमा १६ जना नेपाली खेलाडी छन् ।

नेपाल गल्फ संघ र नेपाल टुरिजम बोर्डद्वारा संयुक्त आयोजित प्रतियोगितामा ४४ पुरुष र सात महिला गरी ५१ गल्फ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी तीन स्पर्धामा प्रतिस्पर्धा भैरहेको छ । ५४ होलको प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडीको सहभागिता छ ।

प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकूद परिषद्, वाग्मती प्रदेश खेलकूद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीको सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *