साहित्यकार तारादेवी सुनुवारको कृति कोइँच भाषामा लिखित गजल संग्रह ‘झूल्फी फू’को बुधबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।
टेक बहादुर बिष्णुमाया सुनुवार स्मृती कोषद्वारा प्रकाशित कृतिलाई बागमती प्रदेश सभा सदस्य उर्मिला सुनुवारको प्रमुख आतिथ्य तथा सुनुवार सेवा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारको हातबाट कृतिको बिमोचन गरिएको थियो ।
साहित्यकार तारादेबी सुनुवारले यसअघि ‘परिस्थिती’ कविता संग्रह-२०७३, ‘अबिरल’ कविता संग्रह-२०७५, सुनुवार भाषाको ‘थुँ थ्यनी’ संग्रह-२०७६, सुनुवार भाषाको ‘देष मपथु वोय’ कविता संग्रह-२०७८, ‘सम्झनाका फुलहरु’ गजल संग्रह-२०७८, सुनुवार भाषाको ‘सुया’ कविता संग्रह-२०७९ प्रकाशित भईसकेका छन ।यसैबीच टेक बहादुर बिष्णुमाया सुनुवार स्मृती कोषबाट प्रदान गरिने कला तथा साहित्य पुरुस्कार-२०८० गायिका कल्पना सुनुवारलाई प्रदान गरिएको छ । बिगत एक दशकदेखि नेपाली गीत संगीतमा अनवरत रुपमा क्रियाशिल हुँदै आएकी गायिका सुनुवारलाई सुनुवार कोइँच भाषाको ‘गे तेङा गो तेङा’ र ‘पोकली कोथ जाकिन’ मा स्वर भरेकी छिन् ।

सुनुवार कोइँच भाषाको संरक्षण प्रबर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष एक जना कला साहित्यको क्षेत्रमा क्रियाशिल सुनुवारलाई प्रोत्साहन स्वरुप यो पुरुस्कार वितरण गरिदै आएको छ । टेकबहादुर र बिष्णुमाया सुनुवारको स्मृतिमा छोरीहरु साबित्री सुनुवार, तारादेवी सुनुवार छोराहरु अर्जुन सुनुवार र केदारराज सुनुवारले संयुक्त रुपमा २०७५ सालमा रु. १ लाख १० हजार १ रुपैयाँको कोष स्थापना गरेका थिए ।
कार्यक्रममा संबिधान सभा सदस्य दालकुमारी सुनुवार, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङ, सुनुवार सेवा समाजका निवर्तमान अध्यक्ष रणबीर सुनुवार, पूर्व अध्यक्ष मान बहादुर सुनुवार, मन प्रसाद सुनुवार, संस्थापक सदस्य प्रेम बहादुर सुनुवार, गजल संग्रहका कृतिकार एवं स्मृति कोषका संस्थापक सदस्य तारादेवी सुनुवार लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
