काठमाडौं फिफा सहायक रेफ्री विक्रम चौधरीको असामयिक निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा शुक्रबार विहान ह्रदयघातका कारण चौधरीको निधन भएको बुझिएको छ ।
अभ्यासका क्रममा मैदानमा लडेपछि उनलाई आर्मीको स्वास्थ्य टोलीले सिपिआर दिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि छाउनीस्थित आर्मी अस्पताल लागिएको थियो । अस्पतालमा पुगेपछि डाक्टरले उनलाई मृत घोषित गरेको त्रिभुवन आर्मी क्लब स्रोतले जानकारी दियो ।
हाल उनको शव छाउनीस्थित अस्पतालमा राखिएको छ । उनको परिवारजनको उपस्थितिपछि अन्तिम संस्कार कहाँ हुने निर्णय लिइने बुझिएको छ ।
सर्लाहीका स्थायी बासिन्दा चौधरी पछिल्लो ३ वर्षयता फिफा रेफ्रीको रुपमा आबद्ध रहेका थिए । त्रिभुवन आर्मी क्लबमा हवल्दार पदमा कार्यरत रहेका चौधरी पछिल्लो २ दशक देखि रेफ्री गर्दै आएका थिए । उनले २०६३ सालमा एन्फा रेफ्री कोर्ष र २०६६ सालमा राष्ट्रिय रेफ्री कोर्ष गरेका थिए ।
२०६६ सालदेखि ए डिभिजन लिग खेलाएका चौधरी २०२१ देखि फिफा असिस्टेन्ट रेफ्री रहेका थिए । नेपालमा रहेका सहायक रेफ्रीमध्य उत्कृष्ट मानिने चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलाएका थिए ।