नेपालविरुद्ध पाँच विकेट लिएकी युएईकी गौर इंग्ल्यान्डको टोलीमा

 – आइसिसी महिला यू१९ विश्वकप छनोटमा नेपाललाई ८ रनमा अल आउट गर्न पाँच विकेट लिएकी युएईकी तीव्र गतिकी बलर महिका गौर इंग्ल्यान्डको सिनियर टोलीमा परेकी छिन् । 

इंग्ल्यान्डले घरेलु मैदानमा श्रीलंकासँग हुने समान तीन महिला टि२० तथा ओडिआई सिरिजको लागि युएईकी गौरलाई टोलीमा समेटेको हो । बायाँ हाते तीव्र गतिकी बलर गौर स्वींग र बाउन्स बलको लागि चिनिन्छन् । युएईको भविष्यको रुपमा हेरिएपनि उनले इंग्ल्यान्डबाट खेल्ने निर्णय लिएकी हुन् ।

१७ वर्षीय गौरले युएईको सिनियर टोलीबाट १९ महिला टि२० आई खेल खेलेकी छिन् । गत वर्ष जुनमा मलेसियामा भएको आइसिसी महिला टि२० एसिया क्षेत्र छनोटमा नेपाल युएईविरुद्ध ८.१ ओभरमा ८ रनमा अल आउट भएको थियो । महिका गौरले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिएकी थिइन् ।

गत अक्टोबरमा उनले युएईको टोलीबाट खेल्दै महिला एसिया कपमा राम्रो प्रभाव छाडेकी थिइन् । इंग्ल्यान्डमा जन्मेकी उनले घरेलु क्रिकेट थन्डरबाट खेल्दै आएकी थिइन् ।

महिला एसिया कपपछि उनले इंग्ल्यान्डबाट खेल्ने निर्णय लिँदै युएई छाडेकी थिइन् । गौर विश्व महिला क्रिकेटमा ठूलो सम्भावना बोकेकी युवा स्टार हुन् । इंग्ल्यान्डले श्रीलंकाविरुद्ध हुने ओडिआई र टि२० आई दुबै खेलको लागि उनलाई टोलीमा समेटेको छ ।

इंग्ल्यान्ड र श्रीलंकाबीच पहिलो महिला टि२० आई ३१ अगष्ट, दोस्रो २ सेप्टेम्बर र तेस्रो खेल ६ सेप्टेम्बरमा हुनेछ । तीन महिला ओडिआई सिरिज ९, १२ र १४ सेप्टेम्बरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *