कांग्रेस नेता भण्डारी ‘डिस्चार्ज’

काठमाण्डौ – नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज शुक्रवार उपचारपछि कीर्तिपुरमा रहेको बर्न सेन्टरबाट ‘डिस्चार्ज’ हुनुभएको छ । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि भण्डारीलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘बिस्तारै बिस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।’ डा. नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उहाँलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताउनुभयो । उहाँका अनुसार नेता भण्डारीको मङ्गलवार फेरि घाउको ‘ड्रेसिङ’ गरिनेछ ।

झन्डै छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परि घाइते हुनुभएका उहाँको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो । 

‘जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो’, डा. नकर्मीले भन्नुभयो, ‘दागहरू निकालेर छाला प्रत्यारोपण गरिएको हो ।

गएको फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा. भण्डारीको शुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गएको वैशाख १९ गतेदेखि काठमाण्डौको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *