रुसले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।
सोमबारको भेटमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए । जवाफमा रसियन पक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको र त्यसका लागि ठोस प्रस्ताव मागेको मन्त्रालयले जनाएको छ ।रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेको समेत सचिवालयले जनाएको छ । भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ ।