काठमाण्डाै – दाङको बेलझुण्डीमा रहेकाे नेपाल संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी लागेको छ । नेपाल विद्यार्थी सङ्घले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो ।
यसअघि नेविसङ्घसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरू लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो । तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ति जनाउँदै ताला लगाएको हो ।
अखिल क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीका विष्णु चौधरी, अभयप्रताप चौबे र गणेश पौडेलले हिजाे सोमवार प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी सङ्घसँग भएको सम्झौता रद्द गर्न माग गर्नुभएकाे छ ।
विभिन्न निहुँमा विद्यार्थीले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको काम कारबाही प्रभावित हुँदै आएको छ । यसअघि नेविसङ्घको दाङ जिल्ला समितिले गएकाे असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको थियो ।
त्यस्तै असार ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको थियो । दुई विद्यार्थी सङ्गठनले लगाएको ताला छ दिन अघिमात्र खोलिएको थियो ।
यसअघि विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी हुँदा असार २१ गते हुने भनिएको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षक र असार २७ देखि हुन थालेका सहप्राध्यापकका परीक्षाहरू स्थगित भएका थिए । सेवा आयोगमा लगाइएको ताला खुलेपछि गएकाे आइतवार आयोगले कर्मचारी र प्रध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो । परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठेका बेला कुनै छानबिन नगरि परीक्षाको सूचना सार्वजनिक गरिएकोमा आपत्ति जनाउँदै अखिल क्रान्तिकारीले तत्काल कुनै काम नगर्न चेतावनी दिएको छ ।