टुँडिखेलमा गौरा पर्वको रौनक

काठमाडौँ । काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाएका छन् । बिहीबार काठमाडौँको टुँडिखेलमा उनीहरुले भव्य रूपमा गौरा पर्व मनाएका हुन् । गौरा पर्व कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्ने चलन छ ।

३ दिनसम्म मनाइने गौरामा महिलाहरू व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । गौराको दोस्रो दिन व्रतालु महिलाले पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । 

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ । 

सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।  गौरा पर्वको प्रमुख आकर्षण भनेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने नै हो । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् । गौरा विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने गर्छन् । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ । 
यो पर्वलाई एकताका पर्वका रूपमा पनि लिइन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *