काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन/स्वीकृति प्राप्त ४९ कलेज २०८०/०८१ को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउनबाट बञ्चित भएका छन् ।सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यतर्फको शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट ४९ कलेजको सिट स्वीकृत नभएको जनाएको छ ।आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ ।
आयोगले सीटीईभीटीलाई पठाएको विवरणका आधारमा सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।आयोगको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।सिट निर्धारण नभएको कार्यक्रम अन्तर्गत कोशी प्रदेशमा ७, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ शिक्षण संस्था छन् ।
यसअघि सीटीईभीटीले आयोगसँग परामर्श नै नगरी आफूखुसी भर्ना खुला र शुल्क समेत तोकेको थियो । त्यसपछि आयोगले पत्र काट्दै चिकित्सा शिक्षा ऐन अनुसार काम अगाडि बढाउनका अनुरोध गरेको थियो ।