टेकनाथ रिजालबारे न्यायिक निरूपण गरिदिन पत्नी कौशिलाको माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पत्नी कौशिला रिजालले  ‘अप्रमाणित र अवाञ्छित अभियोगमा’  आफ्ना पतिलाई थुनिएको भन्दै न्यायिक निरूपणको माग गरेकी छन्।

झापाको बिर्तामोडमा बस्दै आएकी रिजाल पत्नी कौशिलाले प्रेस  नोट जारी गर्दै शरणार्थीको स्वेच्छिक घर फिर्ती अभियानमा रहेका आफ्ना पतिको अभियानलाई निस्तेज गराउने चलखेल लामो समयदेखि हुँदै आएको पनि दाबी गरेकी छन्।

नक्कली शरणार्थी प्रकरणको मुद्दामा आवश्यक छानबिन एवं न्यायिक निरूपणका क्रममा हाल पुर्पक्ष थुनामा रहेका श्रीमान एवं भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालका बारेमा सिंगो राज्य संयन्त्र, अधिकारवादी समुदाय एवं प्रेस जगतको ध्यानाकर्षण गराउन यो विज्ञप्ति  जारी गरेको जनाउँदै कौशिलाले सधैँ न्यायिक लडाइँ र अधिकारको पक्षधर भएर हिँडेका नेता रिजालको सपनाबारे आफू जानकार रहेको भन्दै अभियोग झुठो भएको उल्लेख गरेकी छन्।

‘मैले बितेको आधा शताब्दीयता दिँदै आएको साथ तथा उहाँको कार्यदिशा, सपनाबारे जानकार भएका कारण उहाँका पक्षमा राय राख्न उपयुक्त ठानेर यो अनुरोध लेख्दैछु,’ उनले भनेकी छन्, ‘इतिहासदेखि आफ्नो जातीय पहिचान, भाषा-संस्कृतिको पक्षमा आवाज उठाउँदै र न्याय, लोकतन्त्र तथा मानव अधिकारको पक्षधर बनेरै संघर्षको भिन्न उचाइमा चिनिएको नाम हो-टेकनाथ रिजाल। न्याय, नियम र पद्दतिको पक्षमा उभिने भएरै भुटानमा १० वर्ष जेलनेल व्यहोर्ने नेता रिजाल भुटानी शरणार्थीको स्वेच्छिक घरफिर्तिको अडानमा निरन्तर आवाज उठाइरहने एकमात्र प्रतिनिधि पात्र हुनुहुन्छ।’

कौशिलाले  ‘झन्डै ३० वर्षयता शरणागत भएर नेपाल भूमिमा बस्दै आएको र शरणार्थी हकहितका निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएका नेता रिजालको अभियानलाई निस्तेज गराउन लामो समयदेखि चलखेल जारी रहेको’ आरोप पनि लगाएकी छन।

‘आज आएर नक्कली शरणार्थीको गिरोहलाई जोडेर नेता रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोगसहित पुर्पक्ष थुनामा राखिएको प्रसङ्ग आफैंमा अन्यायपूर्ण देखिन्छ,’ उनले भनेकी छन्, ‘नक्कली शरणार्थीको यो गिरोहबारे स्वयं रिजालले एक वर्षअघि देखि नेपालका पूर्वप्रधानमन्त्रीहरू तथा बहालवाला मन्त्री, पूर्वपरराष्ट्र मन्त्री र मिडियासहित सम्बद्ध निकायमा सप्रमाण सूचना दिँदै आउनुभएको थियो। यो गिरोहमा संलग्न व्यक्तिहरूका बारेमा गत वर्ष वैशाख अन्तिममा समेत गृह मन्त्रालयमा लिखित रूपमा जानकारी दिएको यथार्थबारे नेपाली मिडिया जगत जानकार छ।’ 

उनले ७६ वर्ष पूरा हुन लागेका र सुगर, ब्लडप्रेसर सहितका असाध्य बिरामहरूबाट ग्रसित नेता रिजालको आगत-विगत सम्झेर पनि न्यायिक सुनुवाइका लागि अनुरोध गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *