काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ ।
मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत् ग्लोबल आईएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने भएकाे छ ।
बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाण्डाै उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ । यस्तै, काठमाण्डाै उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाण्डाै उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मेसिनको उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभाेक्ताको आकाङ्क्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताउनुभयो ।
उहाँले ग्लोबल आईएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै आजको यो मेसिन उद्घाटन पनि त्यसकै उदाहरण भएको बताउनुभयो ।