काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खोतलेर छोड्दा पानी परेपछि स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ। बिहीबार परेको पानीले काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच सिमानामा पर्ने कपनको खहरे खोलाछेउका बिजुलीका पोलहरू ढलेका छन्।
काठमाडौं महानगरले साउन २५ गते कपनको साततलेमा खोला खोतल्ने भन्दै डोजर लिएर गएको थियो। बुढानीलकण्ठ नगरपालिकासँग समन्वय नगरी कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको थियो।

काठमाडौं महानगरले अहिले मिलनचोकसम्म डोजर लगाएर खोला खोतलेर मात्रै छोडेको छ। खोला खोतलिएका क्षेत्रका घरहरू जोखिममा छन्। यस्तै घर जाने बाटो नहुँदा दैनिकी कष्टकर भइरहेको स्थानीय बताउँछन्।
हिजो राति परेको पानीले विभूति प्रज्ञा निकेतन स्कुलको कम्पाउण्डमा बिजुलीको पोल ढल्यो। पोल ढलेपछि विद्यार्थीलाई विद्यालय आऊजाऊ गर्न समेत कठिनाइ भएको विद्यालयका प्रधानाध्यापक भीष्मराज ढकाल बताउँछन्।
