भूकम्पीय सुरक्षाको लागि शिक्षामा व्यापक परिवर्तन गर्नुपर्ने प्रस्ताव

काठमाडौँ । एक अध्ययन प्रतिवेदनअनुसार भूकम्पीय सुरक्षाका लागि मौजुदा शिक्षामा व्यापक परिवर्तन गर्नुपर्ने देखिएको छ । 

नेपाल भौगोलिक रुपमा उच्च भूकम्पीय जोखिममा पर्नुका  साथै अन्य प्राकृतिक प्रकोपको तुलनामा धेरै ज्यान लिने र धेरै क्षति पुर्‍याउने प्राकृतिक प्रकोप भएकोले यसको न्यूनीकरणका लागि शिक्षा नीतिमा उल्लेख्य परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । 

स्विजरल्याण्डस्थित लुजान विश्वविद्यालयका दुई अध्येता जियोर्ज हेतेनी र शिव सुवेदीद्वारा नेपालको विद्यालय शिक्षाको वर्तमान अवस्थाको अध्ययन गरेर उक्त निष्कर्ष निकालेका हुन् । 

लेखकद्वयका अनुसार मानिसहरुको चेतनास्तर, आर्थिक स्थितिलगायत विभिन्न कठिनाइहरुले गर्दा भूकम्प सुरक्षा जनताको प्राथमिकतामा नपरेको उल्लेख छ । उनीहरुले नेपालका विभिन्न भागका विद्यालयमा पुगेर भूकम्पबाट हुने जोखिम सुरक्षाको यथार्थ अवस्थाको अध्ययन गरेका थिए । उनीहरुले सो अध्ययन पछि जोखिम न्यूनिरकणका लागि शिक्षामा परिवर्तन गर्नु पर्ने ठहरका साथ केही योजनाहरु प्रस्ताव गरेका छन् । 

‘भूकम्प सुरक्षामा जागरुक गराउन तथा भूकम्प तयारीमा जिम्मेवार बनाउनको लागि तत्काल र व्यापक शैक्षिक प्रयासको आवश्यकता छ । हामीले नेपालका विभिन्न विद्यालयमा भूकम्प शिक्षाको वर्तमान अवस्थाको बारेमा अध्ययन गरेका छौँ साथै उक्त अध्ययनपश्चात भूकम्प सुरक्षाको लागि आधिकारिक शिक्षा नीति निर्माणको लागि आवश्यक योजनाहरु पनि प्रस्ताव गरेका छौँ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ । 

हेतेनी र सुवेदीले शैक्षिक सामग्रीको उपलब्धता, शिक्षक तथा विधार्थीहरुलाई भूकम्प शिक्षासम्बन्धी तालिम र अध्ययन अध्यापन शैलीमा परिवर्तन गर्नु पर्ने प्रस्ताव गरेका छन् ।   

‘हाम्रा प्रस्तावहरुमा स्थानीय तथा विभिन्न भाषाको प्रयोग, निःशुल्क शैक्षिक सामग्रीको उपलब्धता, सम्बन्धित विषयमा शिक्षकहरुलाई तालिम र तालिमको निरन्तरता, विद्यालयमा सुरक्षित भूकम्प अभ्यास (अर्थक़ुइक इभ्याक्युशन ड्रिल) तथा पाठ्यक्रम परिमार्जन र पाठ्यक्रमको शैली आदि छन् । हामीले प्रस्ताव गरेका शैक्षिक नीति निर्माणको लागि गर्नुपर्ने कामहरु फरक फरक समय र अवधिमा सम्पन्न गर्न सकिन्छ, उनीहरुको प्रस्ताव छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *