राष्ट्रिय खेलकुद परिषद (राखेप) र क्षेत्रिय खेलकुद विकास समिति अन्तर्गत रहेका सबै खेलकुद पूर्वाधारहरु र कर्मचारीहरु समेत प्रदेश खेलकुद परिषद आउने भएका छन् ।
राखेपको बिहिबार बसेको ११७ औं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । चिनको हाङझाउमा १९ औं एसियाली खेलकुद सकिएको १५ दिन भित्र बैठकको निर्णय कार्यान्वयन गर्न यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले निर्देशन समेत दिएका छन् ।
मन्त्री लिम्वुको अध्यक्षतामा बसेको राखेपको बैठकले क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु ओएनएम स्विकृति नभए सम्मका लागि प्रदेश खेलकुद विकास समिति अन्तर्गत समायोजन गरिनुका साथै खेलकुद पूर्वाधारहरुको शुरक्षा, सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद परिषदले गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
“आजको बैठकले निकै महत्वपूर्ण निर्णय गरेको छ । यो निर्णयले नेपाली खेलकुदमा संघियता आएको महशुस हामीले गरेका छौं”–बैठक पछि कुरा गर्दै सदस्य सचिव शर्माले भने । क्षेत्रिय खेलकुदमा रहेको कामकाज, जिन्सी, असुल उपरलगायत सम्पूर्ण विषयहरु अव प्रदेश खेलकुद परिषदको समन्वय र सहयोगमा हुनेछ ।
त्यसै गरि बैठकले राखेपले हालै कर्मचारी बढुवालाई अनुमोदन गर्नुका साथै १९ औं एसियाली खेलकुदमा सहभागि हुने खेलाडी, प्रशिक्षक, अफिसियल, पदाधिकारीहरुको सहभागिता शुनिश्चित गर्नुका साथै मुलपानी क्रिकेट खेल मैदान र गिरिजा प्रसाद कोइराला खेल मैदान जिटुजिका आधारमा डिपिआर निर्माण सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।