विश्व कीर्तिमान बनाएका मोन्डो भन्छन्–कुनैकुनै सफलताले आवश्यक्ताभन्दा बढी खुसी दिन्छ

काठमाडौँ । ‘हावाबाट तल बजारिएपछि मैले पछाडि फर्केर हेरेँ । बार जस्ताको त्यस्तै थियो । त्यसपछि मेरो खुसीको कुनै सीमा रहेन । किनभने मैले एउटा ठूलो उपलब्धि आफ्नो नाममा लेखाइसकेको थिएँ,’ हालै सम्पन्न डाइमन्ड लिगका क्रममा इतिहास रचेको क्षण सम्झँदै स्विडेनका पोल भल्ट खेलाडी अर्मान्ड डुपलान्टिसले भनेका छन् । 

अमेरिकामा सम्पन्न डाइमन्ड लिगको पोल भल्ट स्पर्धामा स्विडेनका अर्मान्डले नयाँ विश्व कीर्तिमान बनाएका हुन् । प्रतियोगितामा उनले ६.२३ मिटरको प्रदर्शन गरेका थिए । ‘त्यो प्रयास सफल होला भन्नेमा म आफैलाई विश्वास थिएन,’ सञ्चारकर्मीसँगको कुराकानीमा मुसुक्क हाँस्दै उनले भनेका छन् ।

मोन्डोको उपनामले परिचित यी खेलाडीले बनाएको विश्वकप कीर्तिमान भंग गर्न अब अन्य खेलाडीका लागि सहज हुने छैन । यसअघि पनि पोल भल्टको विश्व कीर्तिमान उनकै नाममा थियो । साविक विश्व च्याम्पियनसमेत रहेका मोन्डोको नाममा यसअघि ६.२२ मिटरको कीर्तिमान थियो । 

त्यो कीर्तिमान पनि उनले यसै वर्ष आफ्नो नाममा पारेका थिए । ‘सफलता सबैका लागि प्रिय हुन्छ । तर, कुनै—कुनै सफलताले आवश्यक्ताभन्दा बढी खुसी दिन्छ,’ अमेरिकामा जन्मिएका २३ वर्षीय स्विडिस खेलाडी मोन्डो भन्छन् । 

उनले सन् २०२० मा जापानको टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पोल भल्टमा पनि स्वर्ण पदक जितेका थिए । सन् २०२२ मा भएको विश्व च्याम्पियनसिप र सन् २०२३ मा भएको विश्व च्याम्पियनसिपमा पनि उनले स्वर्ण पदक नै हात पारेका थिए । सअघि सन् २०१९ मा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा भने उनी रजत पदकमा चित्त बुझाउन बाध्य भएका थिए । सन् २०२२ मा बेलग्रेडमा सम्पन्न वल्र्ड इन्डोर च्याम्पियनसिपमा भने उनले स्वर्ण पदक नै जितेका थिए । डाइमन्ड लिगमा भने उनी सन् २०२१ देखि नै पहिलो स्थानमा रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *