एकदिन यस्तो हुनेछ

तिमी जान्दछौ शासन गर्नु नै सरकार हो
सरकार बनाउनु नै सबैथोक हो
यदि यसो हो भने
फगत यी मनोभावनाबाट बाहिर आउ
एकदिन यस्तो हुनेछ
तिमिले नै दबाएको नगरिकहरुबाट
तिमिले नै सिकाएको राजनीतिक पाठहरुबाट
फुत्त जन्मिनिनेछन हजारौं बालेन र साम्पाङहरु
अनि ढल्नेछन
तिम्रा राजनीतिका धरोहरहरु ।

अभावमा थमाएका रित्तो कचौरीहरु
बाध्यतामा थमाएका राहदानीहरु
विद्रोहका हतियार बन्नेछन
महंगिले छाला काढिएका
अस्थिपन्जरहरु बिस्तारै उठ्नेछन
तिमी मान या नमान
एकदिन यस्तो हुनेछ
तिमिले नै ठड्याएका सालिकहरुबाट
फुत्त निस्कनेछन हजारौं सहिदहरु
अनि
ध्वस्त हुनेछन तिम्रा राजनीतिका धरोहरहरु ।

तिमी मान या नमान
एकदिन यस्तो हुनेछ
तिमिले नै घोषणा गरेका जनसभामाहरुमा
तिमिले नै आव्हान गरेका बैठकहरुमा
गस्ती चिलहरुको घेरा तोड्दै
बजारमा नबिकेका सर्टिफिकेट भित्रबाट
फुत्त निस्कनेछन हजारौं लादेनहरु
अनि
ढल्नेछन तिम्रा राजनीतिका धरोहरहरु ।

विचौलियाको पैतालोबाट उठ्नेछन किसानहरु
भ्रस्टाचारको जन्जालोबाट ब्युँतनेछन नागरिकहरु
एकदिन यस्तो हुनेछ
तिमिले नै हत्या गरेका संविधानका धाराहरु
तिमिले नै बलत्कार गरेका कानुनका उपधाराहरु
न्यायालयको तराजुहरुबाट
फुत्त निस्कनेछन न्यायप्रेमी नेपालीका आवाजहरु
अनि
बर्साउनेछन मतपत्रका लाखौंलाख अस्त्रहरु।
भस्म हुनेछन् तिम्रा राजनीतिका धरोहरहरु।
भस्म हुनेछन् तिम्रा राजनीतिका धरोहरहरु।

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी,नुवाकोट

Leave a Reply

Your email address will not be published.