
मौद्रिक नीतिको एउटा व्यवस्थापनले सेयर बजारमा उत्साह ल्याएको हो । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबार नेप्से परिसूचक ४९.१५ अंकले बढेको छ।
आजको बजारमा २४४ कम्पनीको शेयर कारोबार भएकोमा १८६ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज बजारमा सबैभन्दा धेरै वृद्धि बैंकिङ समूहको भएको छ । सो समूहको परिसूचक ३.३२ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनमूलक उद्योग परिसूचक पनि २.९१ प्रतिशतले बढेको हो । आज सबै उपसूचक बढ्दा उल्लेखित बाहेक ६ उपसूचकको वृद्धि १ प्रतिशत भन्दा बढी देखिएको छ ।
आज बजारमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो । यसरी सर्किट लेभलमा कारोबार भएका कम्पनीहरूमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक,दोर्दीखोला जलविद्युत् अपर र हेवाखोला जलविद्युत् कम्पनी रहेका छन् । भुगोल इनर्जीको ७.१७ प्रतिशतले घटेको मूल्य नै आजको सर्वाधिक गिरावट रह्यो । मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बैंकले प्रवाह गर्ने असल कर्जाको प्रोभिजनिङ दर १.१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरेको थियो । यो व्यवस्थाका कारण बैंकहरुको नाफा करिब साढे ४ अर्ब रुपैयाँले बढ्ने अनुमान गरिएको छ । बैंकसँगै समग्र बजारमा समेत आज सुधार भएको छ ।