
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनलाई भव्य, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने सम्पूर्ण तयारी पूरा भइसकेको नेशनल प्याब्सनले जनाएको छ।
देशभरका निजी विद्यालयका लगानीकर्ता, संस्थापक, प्राचार्य तथा प्रतिनिधिहरूको ऐतिहासिक भेला हुने यस महाधिवेशनमा, संगठनले सबै सदस्य विद्यालयहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
भ्रामक सूचनाप्रति नेशनल प्याब्सनको गम्भीर ध्यानाकर्षण
महाधिवेशनको पूर्वसन्ध्यामा केही व्यक्तिहरूले संगठनको गरिमा, एकता र सौहार्दमा आघात पुर्याउने उद्देश्यले भ्रामक र तथ्यहीन सूचनाहरू सार्वजनिक गरिरहेकोप्रति नेशनल प्याब्सनले गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले यस्ता सूचनाहरूलाई कुनै पनि हालतमा विश्वास नगर्न सम्पूर्ण सदस्य विद्यालय, प्रतिनिधि तथा सरोकारवालाहरूलाई अपिल गरेको छ।
नेशनल प्याब्सनले पुन: स्पष्ट पार्दै भनेको छ — संगठनको विधि, विधान र वैधानिक प्रक्रियाअनुसार नै आठौं महाधिवेशन आयोजना गरिएको हो। विगतमा देखिएका केही विवादहरू उच्च अदालत पाटनको आदेश र संगठनका संस्थापक तथा सल्लाहकारहरूको सहमतिबाट टुंगिसकेको समेत स्मरण गराइएको छ।
शिक्षाक्षेत्रका समसामयिक मुद्दामा व्यापक छलफल हुने
फागुन १६ र १७ गते हुने आठौं राष्ट्रिय महाधिवेशनमा निजी विद्यालयहरूको भविष्य, शिक्षाक्षेत्रका समसामयिक चुनौतीहरू तथा समाधानका उपायहरूबारे गहन छलफल हुने कार्यक्रम छ। साथै, संगठनलाई अझै सुदृढ, सशक्त र प्रभावकारी बनाउन नयाँ नेतृत्व चयन प्रक्रिया समेत महाधिवेशनको प्रमुख एजेन्डा रहनेछ।

ऐतिहासिक सहभागिताका लागि हार्दिक स्वागत
नेशनल प्याब्सनले सबै निष्ठावान सदस्य विद्यालयका प्रतिनिधिहरूलाई महाधिवेशनमा सहभागी भई संगठनको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न हार्दिक स्वागत गरेको छ।
भव्य तयारी, शान्तिपूर्ण वातावरण र ऐतिहासिक सहभागिता सहित नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सफल पारौं !