
काठमाडौं – माल्टाको फुटबल संघ (MFA) बाट आधिकारिक मान्यता प्राप्त पहिलो नेपाली रेफ्री रोशनराज पन्तलाई इलाइट न्यूज प्रा.लि.ले विशेष सम्मान प्रदान गरेको छ। पन्तको यो ऐतिहासिक उपलब्धिले नेपाली फुटबल जगतमा नयाँ प्रेरणा थपेको छ।
२०० भन्दा बढी खेलमा रेफ्रीको जिम्मेवारी निर्वाह गरिसकेका पन्त नेपाली समुदायका लागि गौरवको प्रतीक बनेका छन्। खेलाडीका रूपमा नेपालीहरू अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय देखिए पनि रेफ्रीको भूमिकामा उनले स्थापित गरेको पहिचान विशेष उल्लेखनीय मानिन्छ।

सम्मान समारोहमा आफ्नो अनुभव साझा गर्दै पन्तले नेपाल र युरोपको फुटबल संरचनाबीचको भिन्नतालाई प्रकाश पार्दै भने, “युरोपमा फुटबल एकेडेमीको ठोस संरचना छ, जसले खेलाडीहरूको भविष्य निश्चित गर्छ। तर, नेपालमा खेलाडीहरू प्रायः व्यक्तिगत प्रयासबाट अघि बढ्न बाध्य छन्।” उनले व्यवस्थित लिग संरचना र स्तरीय प्रशिक्षण प्रणालीको अभावमा नेपाली फुटबलले गति लिन नसकेको उल्लेख गरे।

उक्त कार्यक्रममा इलाइट न्यूज प्रा.लि.का अध्यक्ष अरुण तिमल्सिना, इलाइट फुटसलका अध्यक्ष श्याम कुमार श्रेष्ठ र प्रबन्ध निर्देशक रविन शाक्यले पन्तलाई सम्मानपत्र प्रदान गर्दै उनको सफलताको उच्च मूल्यांकन गरे। काठमाडौंको इलाइट फुटसलमा आयोजित कार्यक्रममा फुटबल क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, प्रशिक्षकहरू तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
माल्टामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली पहिचान स्थापित गरेका रोशनराज पन्त आगामी पुस्ताका रेफ्रीहरूका लागि प्रेरणादायी व्यक्तित्व बन्न सफल भएका छन्। उनको सफलता नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण प्रेरक तत्व बन्ने विश्वास गरिएको छ।