
खाँडादेवी विकास कोषको अध्यक्षमा पुनः शेरबहादुर तामाङ निर्वाचित भएका छन् ।
कोषको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा चुनबहादुर खत्री ९शंकर० निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा कमल केसी, सहसचिवमा बालकुमारी खड्का र कोषाध्यक्षमा प्रकाश बुढाथोकी चुनिएका छन् ।
सदस्यमा तेजराज घिसिङ, भक्तिमाया श्रेष्ठ, क्षेत्रबहादुर बुढाथोकी, मनोज बुढाथोकी, मिना तामाङ र बसन्ती तामाङ चुनिएका छन् ।
खाँडादेवीलाई ऐतिहासिक र धार्मिक महत्वको शक्ति पीठ मानिन्छ । विसं १५१५ माघ १५ गते खाँडादेवीको शिला फेला परेको बताइँदै आएको भए पनि अहिले १२४० चढाएको चाँदीको जन्तर फेला परेको बताइएको छ । त्यसको पुरातात्विक हिसाबले पुष्टि हुन बाँकी छ । विसं १५७३ मा मन्दिरमा चढाइएको घण्ट भने सुरक्षित छ ।
शिवपुराणको हिमवत खण्डमा रोशमती ९रोशी० र सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले शुम्भ र निशुम्भ नामका राक्षसलाई वध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवीमा खड्ग गाडेर कालिञ्चोकमा अन्र्तध्यान भएको उल्लेख छ । त्यसैले यो मन्दिरलाई पौराणिक मन्दिर मानिन्छ ।
तामाङ समुदायका पुजारी रहेका सो मन्दिरका पुजारीहरू हिन्दु धर्म मान्दछन् । सम्भवतः नेपालमा हिन्दु धर्म मान्ने तामाङ अन्त छैनन् । यहाँका तामाङले हिन्दु धर्म अनुसारकै संस्कार गर्दछन् ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवी, चिसापानी, तिल्केस्थान लगायतका स्थानमा सहायक गढीका रूपमा किल्ला बनाएका थिए । अङ्ग्रेजसँगको लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति पाइन्छ । त्यसैले खाँडादेवी मन्दिर परिसरमा पृथ्वीनारायण शाहको सालिक राखेर उनी प्रति सम्मान गर्नुपर्ने नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल बताउँछन् ।
सिन्धुलीगढीको लडाइँमा खाँडादेवीसँग बल पुकारा गरेर विजयप्राप्त गरेपछि पृथ्वीनारायण शाहले खाँडादेवीको शिलालाई काठमाडौं लैजान खोजे । शिला लिएर गएको सेनाले कतै पनि नबिसाई लगेको शिलालाई साँगामा पु¥याएर बिसाउँदा अलप भयो । दोस्रो पटक पनि शिला अलप भयो ।
तेस्रो पटक भक्तपुरको खोपीढुंगामा पु¥याएर बिसाउँदा शिला फेरि पनि अलप भयो । कसै गरे पनि शिला लैजान नसकेपछि पृथ्वीनारायण शाहले कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवीदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनू भनी आदेश दिई पूजा चलाए । व
डा दशैँ र चैते दशैँमा सो बलि दिने गरिएको पुजारीहरूको भनाइ छ । दरबारबाट आउने पूजा रोकिएपछि खाँडादेवी विकास कोषले नै सो पूजा गर्दै आएको छ ।
खाँडादेवी मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । रामेछाप बाहेक काठमाडौं उपत्यका, दोलखा, ओखलढुङ्गा, सिन्धुली, काभ्रे तथा तराई र पूर्वका जिल्लाबाट मात्र होइन भारतबाटसमेत मन्दिरमा दर्शनार्थी आउने गरेका कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् । अहिले मन्दिरसम्म नै सडक पुगेकाले दर्सनार्थीलाई सहज भएको छ । मन्दिरमा पुग्ने केही किलोमिटर बाटो पिच हुन बाँकी रहेकोले सो सडक पिच गर्न स्थानीयले माग गरेका छन् ।