अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको जितपछि विश्वबाट उनलाई बधाईको ओइरो लागेको छ ।
यो सूचीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि छन् । चुनावमा ठूलो जित हासिल गरेकोमा ट्रम्पलाई बधाई भनेर जेलेन्स्कीले भनेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै उनले ट्रम्पलाई बधाई दिएका हुन् ।
‘सेप्टेम्बरमा ट्रम्पसँग भएको शानदार भेट मलाई याद छ । यस क्रममा हामीले युक्रेन–अमेरिकी रणनीतिक साझेदारी, विजयको योजना र युक्रेन विरुद्ध रुसको आक्रामकता समाप्त गर्ने तरिकाबारे छलफल गरेका थियौँ ।’ पोस्टमा उनले लेखेका छन् ।
ट्रम्पले विश्वस्तरमा शक्तिको माध्यमबाट शान्तिको प्रतिबद्धता गरेको र उनको यो प्रतिबद्धताको आफूले सराहना गर्ने पनि उनले लेखेका छन् ।
‘यो युद्ध छिट्टै अन्त्य हुनुपर्छ किनकि युक्रेन र यसका राष्ट्रपतिले ठूलो कठिनाइको सामना गरिरहेका छन्,’ सेप्टेम्बरमा जेलेन्स्कीलाई भेटेपछि डोनाल्ड ट्रम्पले भनेका थिए । उता, जेलेन्स्कीले चाँहि आफ्नो खराब समयमा अमेरिका बलियोसँग आफ्नो साथमा उभिएको र ऊमाथि आफूलाई पूरा आशा भएको बताएका थिए ।