मिति: १४ कार्तिक २०८१,
🖋️ लेखक, नारायणबाबु तिम्सिना
प्रधानाध्यापक-पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुल
आजकाल मानिसहरू जस्ता लाग्छन् त्यस्ता बुझिँदैनन् र जस्ता बुझिएका हुन्छन् त्यस्ता लाग्दैनन्। ए , को छ त्यस्तो भन्नुभको ? यो वा त्यो नै किन भन्नू पर्यो र! बा बा जस्ता छैनन्, आमा आमा जस्ती छैनन्। छोराछोरी छोराछोरी जस्ता लाग्दैनन्। अनि श्रीमान- श्रीमती , साथीभाइ अरू नातागोता र छरछिमेकिको त कुरै नगरौं यहाँहरू आफैं भुक्तभोगी हुनुहुन्छ। सबै बनावटी र नक्कली पो लाग्न थालिसक्यो त ।
घर-परिवार , छरछिमेक, विद्यालय , अफिस, समाज जे जे हुन् र जस्ता जस्ता हुनुपर्ने हो त्यही छैनन् र त्यस्ता लाग्दैनन्। फेरि यहाँ आश्चर्यमा पर्न सक्नुहुनेछ, किन ? भनेर। किन आश्चर्यमा पर्नु? यहाँ प्रत्येक व्यक्ति आफ्नो अदृश्य चाहाना, अभिलाषा एवम् स्वार्थ पूरा गर्न यी सबै ठाउँमा केवल छल, कपट र अभिनय गर्दै छ। उत्तर आधुनिकवादले परिभाषित गरे जस्तै यी हरेक संस्थामा मानिस चरम वैयक्तिकताको अभ्यास गरीरहेको छ। सर्बप्रथम ऊ प्रत्येक ब्यक्ति , बस्तु र घटनालाई आफ्नो स्वार्थ अनुरूपको तुलोमा राखेर नाप्छ, जोख्छ, तौलन्छ।अनि नाफाघाटाको हिसाबकिताब गरेर वियोगान्त नाटकमा झैं आफ्नो बेजोडको कला प्रस्तुत गर्दछ। ऊ ठान्छ कि उसको यस्तो कलाको मूल्य र परिणाम अरूहरूकालागि जतिसुकै अर्थहीन नै किन नहोस् तर आफ्नो लागि चैं पहिले नै परिकल्पना गरेजस्तै खास हुनुपर्दछ।
यसरी प्रत्येक व्यक्ति अत्यन्तै रूढ, क्लिष्ट र चरम आत्मकेन्द्रीत बन्दैछ। आफ्नो कर्तव्य र दायित्वको कुनै पर्वाह नगरी व्यक्तिगत स्वतन्त्रताको उच्चतम उपभोग गर्दैछ तर त्यसको परिणामप्रति नतमस्तक र मौन छ। प्रबिधिको प्रभाबले हरेक व्यक्ति यान्त्रिक, संबेदनाहीन र एकोहोरो बनेको छ।
हाम्रा स्थानीय टोलटोल र चोकचोकमा सुनिएका प्रतिनिधिमूलक यस्ता आवाजहरू सुन्दा लाग्छ सारा संसार नै यसैगरी अग्रगमन , बिकास , आधुनिकता अनि प्रगतिको परिभाषा गुथेर खोक्रो आडम्बरको भारी बोकेर बेतोडले हुइँकिरहेको छ गन्तब्यहीन यात्रामा। सामान्य शिष्टाचार, अनुशासन , नैतिकता एवम् मानवीय मूल्यलाई समेत लत्याएर जस्तोसुकै विध्वंस मच्चाउन उद्धत छ आधुनिक समाज। समाजले आशा र भरोसा गरेका पात्रहरू धामाधम बिस्वासघात गरेर निराशा पस्किरहेका छ्न्। आम जनमानसमा अभिन्न साइनो गाँसेर लोककल्याण, अमनचैन र समृद्धिका सपना बाँड्नेहरू नेतृत्वमा पुगेपछि सबैचिज भुलेर अगम लोकका परलौकिक शक्ति झैँ केवल आफ्नै व्यक्तिगत जीवनमा चमत्कार गरीरहेका छन्। यो रूप एवम् चरित्र मानिसमा त्यो बेला फक्रन्छ जुनबेला ऊ समाज वा राज्यको महत्त्वपूर्ण सार्बजनिक पदम आसिन हुन पुग्दछ।
ब्यग्रतापूर्वक सुखद एवम् समृद्ध भविस्य पर्खिरहेका तमाम नेपालीजन आर्थिक ,सामाजिक , साँस्कृतिक , राजनीति आदि विभिन्न किसिमका कुरीति , विभेद, बिकृती,अपहेलना , कुसंस्कार , भ्रष्टाचार, बेरोजगार जस्ता रोगले आजित बनेका छन् ।यी सबै कुराले हाम्रो समाज प्रेम, स्नेह, सहानुभूति ,सहिष्णुता, सह -अस्तित्व , भाइचारा , पारस्परिक सहयोग र सकारात्मक दृष्टिकोणका साथ भन्दा पनि रिस,घृणा, आरिष , द्वेष , निषेध र नकारात्मक दृष्टिकोणका साथ अगाडि बढीरहेको आभास हुन्छ।
त्यसो भए अब के गर्ने त? एउटा असल र जिम्मेवार नागरिकको हैसियतले हाम्रो दायित्व के हो?
हाम्रो दायित्व असल र जिम्मेवार नागरिक तयार गर्नु हो। हरेक ब्यक्तिमा असल मानवीय गुणको बिकास गरि सकारात्मक जीवन्यापन गर्न तयार बनाउनु हो। सामाजिक साँस्कृतिक बिभेदको अन्त्य गरी हरेक वर्ग र समुदायका मानिसहरूलाई सम्मानपूर्बक बाँच्नपाउने अवस्था सिर्जना गर्नु हो।
आआफ्नो अधिकार र कर्तव्यप्रती सचेत प्रजातान्त्रिक भावना अनुकुल आचरण गर्ने नागरिक तयार गर्नु हो। कानुनी राज्य र बिधिको शाशनप्रती प्रतिबद्ध राष्ट्रप्रति बफादार नागरिक निर्माण गर्नु हो। प्रत्येक ब्यक्तिमा बिशेष प्रकारको ज्ञान, सीप, दक्षता र अनुभव प्रदान गरि कुशलतापूर्बक राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनसक्ने मानव संसाधनको बिकास गर्नु हो। श्रम बजारमा प्रवेश गरेका सम्पूर्ण नागरिकहरूलाई रोजगारीको उचित प्रबन्ध गरि उत्पादनमूलक बनाउनु हो। श्रोत र साधनको यथार्थ पहिचान गरि त्यसको उच्चतम परिचालन गर्न आबस्यक मानवशक्तिको साबधानीपूर्बक योजना गर्नु हो।
यी सबै कार्यका लागि शिक्षा क्षेत्रमा व्यापक लगानी सहित पुनर्योजना अर्थात् पुनर्संरचना गर्नु आबस्यक छ।
वर्तमान परिप्रेक्ष्यमा यसको सही उपचार सरकारी, सार्वजनिक या सामुदायिक एवम् निजी क्षेत्रको संयुक्त प्रयासमा मात्र सम्भव देखिन्छ