spot_img

इरानले खसालेको अमेरिकी लडाकु विमानका एक पाइलटको उद्धार

spot_img

इरानले आफ्नो आकाशमा अमेरिकाको लडाकु विमान खसालेको छ । उक्त विमानका दुई चालक दलका सदस्यमध्ये एकजनालाई अमेरिकी सेनाले उद्धार गरेको एसोसिएटेड प्रेसले जनाएको छ । अर्का एकजना अझै बेपत्ता छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पारेको र युद्ध निकै छिटो अन्त्य गर्ने दाबी गरेको दुई दिनपछि नै अमेरिकी विमान खसालिनुले युद्धको मैदानमा परिस्थितिको गम्भीरता र जटिलतालाई थप प्रस्ट पारेको छ ।

यसका साथै, इरानी सरकारी सञ्चारमाध्यमले इरानी रक्षा बलको प्रहारबाट अमेरिकी ए–१० अट्याक एयरक्राफ्ट पारस खाडीमा खसेको दाबी गरेका छन् ।

इरानमा विमान दुर्घटनाग्रस्त भएपछि अमेरिकी सेनाले सञ्चालन गरेको ‘खोज तथा उद्धार’ अभियानका क्रममा एक सदस्यलाई सुरक्षित निकालिएको हो भने अर्कोको खोजी जारी रहेको बताइएको छ ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार उक्त विमान एफ–१५ई स्ट्राइक इगल थियो । सुरुमा यसलाई एफ–३५ लाइटनिङ २ भनिए पनि मलबेको तस्बिर विश्लेषणपछि एफ–१५ई भएको पुष्टि गरिएको छ । यस प्रकारको विमानमा दुई सदस्य, एक पाइलट र एक हतियार प्रणाली अधिकारी हुन्छन् ।

इरानको रेभोलुसनरी एयरोस्पेस फोर्सको उन्नत वायु रक्षा प्रणालीले दक्षिण–पश्चिमी क्षेत्रमा उक्त विमान खसालेको दाबी गरिएको छ ।

पाइलटहरूको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी आउन सकेको छैन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पलाई घटनाबारे जानकारी गराइएको पुष्टि गरेकी छन् । तर, थप विवरण सार्वजनिक गरिएको छैन ।

केही च्यानलहरूले पाइलटलाई देख्नेबित्तिकै गोली हान्न वा जीवितै पक्राउ गर्नेलाई इनाम दिने घोषणा गरेको पनि उल्लेख गरिएको छ ।

इरानको तस्निम न्युज एजेन्सीले भने हराइरहेका पाइलट इरानी सुरक्षा बलको नियन्त्रणमा हुन सक्ने संकेत गरेको छ ।

उद्धार अभियान
अमेरिकी सेनाले आफ्ना पाइलटहरूलाई बचाउन ब्ल्याक हक हेलिकोप्टर र सी–१३० हर्कुलिस विमान प्रयोग गर्दै ‘कम्ब्याट सर्च एन्ड रेस्क्यु’ अभियान सञ्चालन गरेको थियो ।

तर, इरानी सञ्चारमाध्यमहरूले उक्त अभियान असफल भएको र पाइलट उनीहरूको नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

यो घटना कोहकिलुयेह र बोयर–अहमद प्रान्तमा भएको बताइएको छ, जुन तेहरानबाट करिब ५०० किलोमिटर दक्षिण–पश्चिममा पर्दछ । पहाडी र दुर्गम भूगोलका कारण खोज तथा उद्धार अभियान चुनौतीपूर्ण बनेको छ ।

यदि, यो घटना आधिकारिक रूपमा पुष्टि भई हराइरहेको पाइलट इरानको नियन्त्रणमा रहेको प्रमाणित भयो भने अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ । यसले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वलाई अझ गम्भीर मोडमा लैजान सक्ने देखिएको छ ।

अहिले अमेरिकी सेन्ट्रल कमान्ड र पेन्टागनबाट आधिकारिक प्रतिक्रियाको प्रतीक्षा गरिएको छ ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू