सर्जक तारादेवी सुनुवारको सन्देशमूलक तिज गीत ‘रातो सारी’ सार्वजनिक भएको छ । उक्त गीत परिवारकै नब्बे वर्षीया ज्येष्ठ सदस्य यशोदा पौडेलले तारादेवी सुनुवारकै आधिकारिक युट्युब च्यानल Tara sunuwar offical youtube बाट सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गीतको रचना मात्र नभई तारादेवी सुनुवारले आवाज पनि भरेकी छिन् भने अर्की गायिका कल्पना सुनुवारले संयुक्त रुपमा आफ्नो स्वरको जादु देखाएकी छिन्। योगेश काजी शाहको संगीत र एरेञ्ज रहेको गीतको भिडियोमा कलाकार ममता मगर लगायतले अभिनय गरेका छन् । त्यसैगरी भिडियो निर्देशन कल्पना सुनुवारको रहेको छ भने कोरियोग्राफी माधव श्रेष्ठले गरेका हुन् ।
समाजमा बढ्दो विकृति, पारिवारिक विखण्डन, अस्वस्थ खानपान र गाउँ–घरप्रति बढ्दै गएको वितृष्णालाई चिर्दै घर, परिवार, आफन्त र समाजलाई एकताको सूत्रमा बाँध्ने सन्देश गीतले बोकेको सर्जक सुनुवारले बताइन् । पछिल्ला वर्षहरूमा तिजमा देखिएको भड्किलोपनको प्रवृत्तिलाई समालोचना गर्दै तिज पर्वको मौलिकता, आराध्यदेव शिवसँगको सम्बन्ध र पारिवारिक सन्देशलाई जोड्न खोजेको उनले बताइन् । ‘
काव्य लेखनमा उत्तिकै सकृय तारादेवी सुनुवारले यसअघि पनि थुप्रै गीत, कथा र कविता संग्रह प्रकाशित गरिसकेकी छन् । सुनुवार भाषामा उनले गाएको ‘गे तेङा गो तेङा’ गीत लोकप्रिय बन्दै गएको छ भने उनले लेखेको निबन्धसंग्रह ‘युद्धभूमिमा डामिएको मन’ पनि चर्चित छ ।