काभ्रेपलाञ्चोकको रोशी–१२ मा अवस्थित एउटा साधारण किसान परिवारमा जन्मिएको बालक, समयसँगै समाज र राष्ट्रका सवाल बोकेर संसदतर्फ अघि बढ्ने यात्रामा छ — त्यो नाम हो गुणराज मुक्तान।
२०४२ साल माघ ११ गते जन्मिएका मुक्तानको बाल्यकाल माटोको गन्ध, हलोको आवाज र अभावको अनुभूतिसँगै बित्यो। खेतको डिलमा उभिएर भविष्यको सपना बुन्ने ती बालकले शिक्षा नै परिवर्तनको बाटो हो भन्ने दृढ विश्वास बोके। यही विश्वासले उनलाई कक्षाकोठाबाट समाजसेवातर्फ डोर्यायो।
विद्यार्थी जीवनमै अन्याय र असमानता विरुद्ध आवाज उठाउन थालेका मुक्तान २०५८ सालमा कोटेश्वर बहुमुखी क्याम्पसबाट नेविसंघको सदस्य बने। त्यो दिनबाट उनी केवल विद्यार्थी रहेनन्, विचार बोकेको युवा बने। २०६१ सालमा नेविसंघ काभ्रे क्षेत्र नं. १ को सभापति बनेपछि उनले संगठन, संघर्ष र सहकार्यको पाठ व्यवहारमै सिके।
राजनीति उनका लागि पद प्राप्तिको माध्यम होइन, सेवा गर्ने औजार बन्यो। साविक भीमखोरी गाउँ इकाइको सभापति हुँदै १२औँ र १३औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हाल्दा उनी स्थानीय समस्यालाई राष्ट्रिय बहसमा पुर्याउने पुल बने।
शिक्षा उनको यात्राको अर्को मेरुदण्ड बन्यो। शैक्षिक योजना तथा व्यवस्थापनमा स्नातकोत्तर, विकास अध्ययनमा एमफिल र विद्यालय शासन प्रणालीमा विद्यावारिधि (पिएच.डी.) अध्ययनरत मुक्तान कागजी प्रमाणपत्रमा मात्र सीमित रहेनन्। उनी शिक्षा नीति बनाउने तहसम्म पुगे— सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्ष र राष्ट्रिय शिक्षा आयोगको सदस्य भएर।
सामाजिक सेवामा पनि उनको नाम छायाँझैँ फैलिएको छ। नाङसाल एसोसिएसन नेपालमार्फत् शिक्षा, स्वास्थ्य, खानेपानी र विपद् व्यवस्थापनमा गरिएको योगदान उनका कर्मका दस्तावेज हुन्। बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्यको रूपमा उनले योजनालाई कागजबाट गाउँसम्म पुर्याउने प्रयास गरे।
मुक्तान आफूलाई “युवाको छोरा, भाइ र साथी” भन्न रुचाउँछन्। किनकि उनी युवाको सपना बुझ्छन्, किसानको पीडा महसुस गर्छन् र शिक्षकको चिन्ता चिन्छन्। उनी राजनीतिलाई विलास होइन, दायित्व ठान्छन्। ठूलो खर्च गर्न नसक्ने तर ठूलो इमान बोकेको उम्मेदवारका रूपमा उनी जनताको घरदैलोमा पुगेका छन्।
नेपाली कांग्रेसले विश्वास गरेर उम्मेदवार बनाउँदा त्यो केवल संगठनात्मक निर्णय थिएन— त्यो संघर्ष, अध्ययन र सेवाको मान्यता थियो। पुस्तान्तरण र रूपान्तरणको नारालाई व्यवहारमा उतार्ने प्रतिनिधि बन्ने आकांक्षासहित मुक्तान आज प्रतिनिधिसभातर्फ अग्रसर छन्।
उनको जीवनकथा सत्ता खोज्नेको कथा होइन, सेवा खोज्नेको इतिहास हो। खेतको डिलबाट संसदको ढोकासम्मको यात्रामा उनले बोकेको एउटै सपना छ—
सुशासन, समृद्धि र सम्मानित जीवन।






