spot_img

मोदीले गरे नयाँ ‘भिजन’ घोषणा

spot_img

भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारको नयाँ भिजन ‘सप्तधारा’ घोषणा गरेका छन् । उनले ‘नक्सलमुक्त भारत’ निर्माणमा हासिल भएको प्रगति र सन् २०३६ को ओलम्पिक आयोजनाका निम्ति आफ्नो देशको दाबीबारे पनि उल्लेख गरे ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा मोदीले लगातार १३औँपटक लालकिल्लाको पर्खालबाट झन्डोत्तोलन गरे । करिब सवा घण्टा लामो सम्बोधनका क्रममा उनले आफ्नो सरकारका उपलब्धिको चर्चा र भावी नीतिबारे नयाँ घोषणा गरे ।

मोदीले रक्षा सामग्रीसहित विद्युत् उत्पादन बढाउनमा जोड दिँदै सेमिकन्डक्टर उद्योग र परमाणु ऊर्जालाई प्रवर्द्धन गर्ने घोषणा गरे । विश्वव्यापी मलसंकटका बाबजुद किसानलाई सस्तोमा मल उपलब्ध गराइएको विषय पनि उनले उल्लेख गरे ।

सोहीक्रममा मोदीले नयाँ भिजनका रूपमा ‘शक्तिको सप्तधारा’ घोषणा गरे ।

‘सप्तधारा’ के हो ?
‘सप्तधारा’अन्तर्गत प्रधानमन्त्री मोदीले सात प्रकारका ‘शक्ति’को उल्लेख गरेका छन् । यी शक्तिले ‘विकसित भारत’ र ‘आत्मनिर्भर भारत’को लक्ष्य हासिल गर्न मद्दत गर्ने उनले बताए ।

मोदीले भने, “म आज त्यो युगलाई पनि सम्झिन चाहन्छु, जब देशले भारतको सामर्थ्यलाई सप्त सिन्धुका रूपमा बुझ्थ्यो र सुन्थ्यो । विकसित भारत बनाउन हामीलाई नयाँ धारा चाहिन्छ । आज लालकिल्लाको पर्खालबाट म देशसामु शक्तिको यो सप्तधाराको आह्वान गर्दछु ।”

उनले अगाडि भने, “आउँदो पाँचदेखि सात वर्षमा, जुन गत पाँचदेखि सात दशकमा हुन सकेको थिएन, सप्तधाराको सामर्थ्य र शक्तिबाट देशलाई नयाँ उचाइ र गति दिनेछौँ तथा नयाँ लक्ष्य हासिल गर्ने सामर्थ्य प्रदान गर्नेछौँ ।”

उनले उत्पादन क्षमतालाई सप्तधाराको पहिलो शक्ति बताए । मोदीले भने, “डिजाइनदेखि उत्पादनसम्म भारत विश्वव्यापी आपूर्ति शृंखलाको भरपर्दो केन्द्र बन्नुपर्छ ।”

मूल्य, गुणस्तर र उत्पादन क्षमताका हिसाबले भारत अन्तर्राष्ट्रिय मापदण्डमा खरो उत्रनुपर्नेमा उनले जोड दिए ।

कृषि तथा खाद्यान्न उत्पादनलाई उनले सप्तधाराको दोस्रो शक्ति बताए । स्वतन्त्र व्यापार सम्झौताका कारण भारतले ठूलो बजार प्राप्त गरेको भन्दै उनले कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए ।

एआई र डेटा सेन्टरमा जोड
मोदीले प्रविधि तथा नवप्रवर्तनलाई सप्तधाराको तेस्रो शक्ति बताए । यसअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई), अन्तरिक्ष र डेटा सेन्टरका क्षेत्रमा नेतृत्व हासिल गर्ने लक्ष्य उनले प्रस्तुत गरे ।

सप्तधाराको चौथो शक्तिलाई उनले ‘गतिशक्ति’ नाम दिए । यसअन्तर्गत सहरहरूलाई द्रुत गतिको रेलमार्फत जोड्ने, आधुनिक राजमार्ग निर्माण र बन्दरगाहको विकास गर्ने योजना उनले सुनाए ।

मोदीले ‘रक्षा शक्ति’लाई सप्तधाराको पाँचौँ शक्ति बताए ।

‘हरित अर्थतन्त्र’ र ‘निलो अर्थतन्त्र’लाई उनले सप्तधाराको छैटौँ शक्ति बताए । भारतले हरित हाइड्रोजन, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, हरित यातायात र हरित उत्पादनमा विश्वस्तरीय क्षमता विकास गर्नुपर्ने उनले उल्लेख गरे । साथै, माछापालन र तटीय पर्यटनलाई प्रवर्द्धन गर्ने योजना उनले सुनाए ।

‘भारतको सफ्ट पावर’ सप्तधाराको सातौँ शक्ति
‘भारतको सफ्ट पावर’लाई मोदीले सप्तधाराको सातौँ तथा अन्तिम शक्ति बताए । हस्तकला, संस्कृति, चलचित्र, सिर्जनात्मक उद्योग, भीएफएक्स, एनिमेसन, गेमिङ र डिजिटल सामग्रीमार्फत भारतले विश्वमा आफ्नो प्रभाव र प्रतिष्ठा विस्तार गर्न सक्ने उनले बताए । द हिन्दुबाट ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू