६ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र छैटौं स्थानबाट चौथो स्थानमा उक्लिएका हुन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब उक्लिएका छन् । उनको ३०३ रेटिङ अंक छ । जिम्बाबेका सिकन्दर राजा २९७ अंकसहित दोस्रोमा झरेका छन् ।
तेस्रोमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । उनको २८२ अंक छ । पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ उक्लिएका छन् ।
दीपेन्द्र ब्याटिङमा पनि ११ स्थान माथि उक्लँदै ६०औं स्थानमा पुगेका छन् ।
आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएको हो । दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए ।
दीपेन्द्रको रेटिङ अंक बढेर २४४ पुगेको छ । यो उनको हालसम्मकै उच्च रेटिङ अंक समेत हो । यसअघि उनको रेटिङ अंक २०२ थियो ।



