spot_img

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै

spot_img

भारतले आगामी जुन महिनादेखि नेपालको लिपुलेक भञ्ज्याङमार्फत् चीनसँगको सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेको छ ।

सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको यो ऐतिहासिक व्यापारिक मार्ग ६ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

व्यापारिक अवधि जुनदेखि सेप्टेम्बरसम्म रहने अपेक्षा गरिएको छ, जसलाई मौसमको अवस्था हेरेर थप विस्तार गर्न सकिने बताइएको छ ।

उच्च हिमाली क्षेत्रमा सडक कनेक्टिभिटीमा सुधार आएकाले यसवर्ष व्यापारीहरूको सहभागिता बढ्ने अधिकारीहरूको अनुमान छ । लिपुलेक नेपाली भूभाग हो । नेपालले आफ्नो नक्सामा लिपुलेक पनि उल्लेख गरेको छ ।
तर भारत र चीनले उक्त भूभागमार्फत् दुवै देशबीच व्यापारिक नाकको रुपमा विस्तार गरिरहेका छन्।

स्थापित प्रक्रियाअनुसार व्यापार अनुमति जारी गरिनेछ र यसले व्यापारी तथा सहयोगीहरूलाई दर्ताका लागि पर्याप्त समय दिने बताइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको पिथौरागढका जिल्ला अधिकारी आशिष कुमारका अनुसार नाका खुल्नुअघि तयारी सुनिश्चित गर्न प्रमुख विभागहरूसँग समन्वय बैठकहरू भइसकेका छन् ।

भारतीय विदेश मन्त्रालयले पिथौरागढ जिल्लाका अधिकारीहरूलाई यस विषयमा जानकारी गराएपछि स्थानीय प्रशासनले व्यापारिक सिजनका लागि तयारी सुरु गरेको छ ।

रणनीतिक मार्ग र राजनीतिक संवेदनशीलता

हिमाली नाकाहरूबाट हुने सीमा व्यापारको इतिहास लामो र जटिल छ । सन् १९६२ को भारत–चीन युद्धपछि रोकिएको लिपुलेक भञ्ज्याङ मार्ग सन् १९९२ मा पुनः खोलिएको थियो र सन् २०२० को महामारीसम्म सञ्चालनमा थियो ।

गत वर्षदेखि यही मार्गबाट कैलाश मानसरोवर यात्रा पुनः सुरु भएपछि स्थानीय व्यापारीहरूले व्यापार पनि सुचारु गर्न दबाब दिँदै आएका थिए । यद्यपि यो नाका खोल्ने कार्यमा भू–राजनीतिक संवेदनशीलता जोडिएको छ ।

नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई लिएर लामो समयदेखि भारतसँग विवाद जारी छ । सन् २०२० मा भारतले धार्चुलादेखि लिपुलेक भञ्ज्याङसम्म जोड्ने सडक उद्घाटन गरेपछि तनाव उत्कर्षमा पुगेको थियो र नेपालले आपत्ति जनाएको थियो ।

त्यसलगत्तै नेपालले आफ्नो दाबी पुष्टि गर्दै परिमार्जित राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।

नेपालमा यसै महिनाको सुरुमा भएको निर्वाचनपछि नेतृत्वमा आएको परिवर्तनले यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने कुरालाई प्रभाव पार्न सक्ने बताइएको छ । यद्यपि, यो मार्गबाट हुने व्यापारमा नेपालको आपत्ति कायमै छ ।

पूर्वाधार विकासले व्यापारको मात्रा बढ्ने अपेक्षा

करिब १७ हजार ५०० फिटको उचाइमा अवस्थित लिपुलेक भञ्ज्याङले भारतलाई तिब्बतको ताक्लाकोट सहरसँग जोड्छ र यसले शताब्दीयौँदेखि व्यापारी तथा तीर्थयात्रीहरूलाई सेवा दिँदै आएको छ ।
व्यापार पुनः सुरु हुँदा सुधारिएको पूर्वाधारबाट ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

सन् २०२० मा सम्पन्न मोटर चल्ने सडकले यसअघिको खच्चर र भेडाबाट सामान ओसारपसार गर्ने प्रणालीलाई विस्थापित गरेको छ, जसले यात्राको समय र ढुवानी लागत घटाएको छ । अधिकारीहरूले गुञ्जी व्यापारिक केन्द्रमा बैंक, भन्सार, टेलिकम सेवा र सुरक्षा निकायहरूसँग समन्वय गरी सबै सुविधाहरू सुनिश्चित गर्न काम गरिरहेका छन् ।

राम्रो कनेक्टिभिटी र नवीकरण गरिएको पहुँचसँगै, यो नाका पुनः सञ्चालनमा आउँदा स्थानीय अर्थतन्त्रलाई बढावा दिनुका साथै यस क्षेत्रको प्रमुख सीमापार व्यापारिक सम्बन्धलाई पुनर्जीवित गर्ने भारतका अधिकारीहरूको अपेक्षा छ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू