काठमाडौँ, १५ फागुन (फेब्रुअरी २७) राजधानीमा सञ्चालित प्रथम क्युकेएस अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एलआरआई स्कुलले हात पारेको छ । गत फागुन ११ गतेदेखि सुरु भएको यस प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा वृहस्पति विद्या सदनलाई पराजित गर्दै एलआरआई च्याम्पियन बनेको हो ।
कुल १२ टोली सहभागी रहेको यस प्रतियोगितालाई ४ समूहमा विभाजन गरिएको थियो । ५ दिनसम्म चलेको प्रतिस्पर्धापछि आज १५ फागुनमा प्रतियोगिताको समापन भएको छ ।
पहिलो सेमिफाइनल वृहस्पति विद्या सदनले संस्कृति इन्टरनेशनल स्कुललाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित ग¥यो । वृहस्पतिका प्रज्वल ए. ले ३५ रनको योगदान दिएका थिए । दोस्रो सेमिफाइनल त्रियोग हाई स्कुल र एलआरआई स्कुलबीचको खेल निकै रोमाञ्चक रह्यो । दुवै टोलीले ९० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो, जहाँ एलआरआईले जित निकाल्दै फाइनलको यात्रा तय ग¥यो ।
फाइनल भिडन्तमा पहिले ब्याटिङ गरेको वृहस्पति विद्या सदनले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो । वृहस्पतिका लागि प्रज्वल ए. ले १६ रन जोडे भने एलआरआईका बलर स्योन एस. र प्रशान्त ए. ले २–२ विकेट लिए । ७१ रनको लक्ष्य पछ्याएको एलआरआई स्कुलले ९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । एलआरआईका सुबोध सी. ले २४ रन र अंश डी. ले १८ रनको महत्वपूर्ण पारी खेले । ४ विकेटको जित निकाल्दै एलआरआईले प्रतियोगिताको ट्रफी उचाल्न सफल भयो ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू ः उत्कृष्ट ब्याट्सम्यान देवांशजंग लामिछाने (संस्कृति इन्टरनेशनल स्कुल) –उत्कृष्ट बलर श्रेयस अवस्थी (एलआरआई स्कुल) प्लेयर अफ द सिरिज श्रेयस अवस्थी (एलआरआई स्कुल) ।




