spot_img
spot_img

हाम्रो नियमित स्तम्भ जनआवाजका लागि आमनिर्वाचन २०८२ विशेष अन्तर्गत सह-सम्पादक स्मृति न्यौपानेले केही युवाहरुसँग तपाईले फागुन २१ गते हुँदै गरेको निर्वाचनलाई कसरी हेर्नुभएको छ ? भनि राख्नुभएको जिज्ञासाको उत्तर जस्ताको त्यस्तै :

विनय भट्टराई
टिकाथली, ललितपुर

छोटो छरितो रूपमा भन्ने हो भने, मैँले आसन्न निर्वाचनबाट सकारात्मक नतिजा को अपेक्षा गरेको छैन । आसन्न प्रतिनिधि सभाको निर्वाचन एउटा सामान्य निर्वाचन नभई असामान्य अवस्थाको निर्वाचन रहेको छ । २०८४ सालमा हुनुपर्ने यो निर्वाचन जेन्जी विद्रोहको कारणले दुई वर्ष अगाडि नै हुन गइरहेको छ । आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्रता पार्टी देशको प्रमुख शक्ति बन्ने आकलन गर्न सकिन्छ । नेकपा एमाले ,नेपाली कांग्रेस, माओवादी लगायत पुराना दलहरूले जनताका विकास र समृद्धिका आकांक्षाहरू पूरा गर्न नसक्नु, देशमा चरम भ्रष्टाचार र कुशासन व्याप्त हुनु ,युवाहरुमा बेरोजगारी तथा निराशा नै जेन्जी विद्रोहका मुख्य कारणहरू रहेका छन्। नेपाली जनमानसले यसपटक राष्ट्रिय स्वतन्त्रता पार्टी लाई वैकल्पिक शक्तिको रुपमा अगाडि बढाउन ब्यालेट बक्सबाट क्रान्ति गर्ने सोच बनाएका छन् तर राष्ट्रिय स्वतन्त्रता पार्टी कुनै नीति ,विचार ,कार्यक्रमबाट भन्दा पनि नेपाली जनताको निराशा र फ्रस्ट्रेसन को उपर प्रमुख शक्ति बन्ने देखिन्छ।यस पार्टीसँग न कुनै विचार, न मजबुत सांगठनिक संरचना न त स्पष्ट कार्यदिशा देखिन्छ। यस्तो शक्ति यदि नेतृत्वमा आएको खण्डमा नेपाल एक चरम राजनीतिक तथा प्रशासनिक संकटमा पर्ने सम्भावना रहेको छ। साथै पछिल्लो समय नेपालमा बढ्दो भूराजनीतिक चाप र दबाब थेग्न सक्ने कुनै आधार यस पार्टीसँग रहेको देखिँदैन। यदि निर्वाचन पश्चात पुराना राजनीतिक दलहरु स्थापित हुने हो भने पनि त्यही पुरानै कार्यशैली दोहोरिने सम्भावना देखिन्छ। अत : नेपाली राजनीतिमा निर्वाचन भन्दा आगाडि एउटा कोर्स करेक्शनको आवश्यकता महसुस हुन्छ ।

विवेक आचार्य
धादिङ्ग

फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई म नेपालको लोकतान्त्रिक यात्राको एक महत्वपूर्ण मोडका रूपमा हेर्छु। निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई जनताको अधिकार, चेतना र जिम्मेवारीको प्रत्यक्ष अभ्यास हो। विगत केही वर्षदेखि देशले राजनीतिक अस्थिरता, बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र युवापलायनजस्ता समस्याहरू सामना गरिरहेको छ। यस्ता चुनौतीपूर्ण अवस्थाबीच हुने यो निर्वाचनले जनतालाई आफ्नो मतमार्फत् असन्तुष्टि व्यक्त गर्ने र नयाँ आशाको ढोका खोल्ने अवसर प्रदान गरेको छ। त्यसैले म यस निर्वाचनलाई परिवर्तनको सम्भावना बोकेको ऐतिहासिक अवसरका रूपमा लिन्छु।

निर्वाचनपछिको नेपालमा राजनीतिक स्थायित्व स्थापना होस् भन्ने मेरो पहिलो अपेक्षा हो। स्थिर र जिम्मेवार सरकार बनेमा दीर्घकालीन विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ। साथै, सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनमा विशेष जोड दिइनुपर्छ भन्ने मेरो धारणा छ। भ्रष्टाचार नियन्त्रणका लागि कडा नीति अवलम्बन गरियो भने जनतामा राज्यप्रति विश्वास बढ्नेछ। आर्थिक क्षेत्रमा उद्योग, कृषि, पर्यटन र पूर्वाधार विकासमा लगानी बढाई रोजगारीका अवसर सिर्जना गर्न सकिए देशको अर्थतन्त्र बलियो बन्न सक्छ।

त्यसैगरी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूमा गुणस्तरीय सुधार अनिवार्य छ। युवाहरूलाई सीपमूलक तालिम, उद्यमशीलतामा प्रोत्साहन र देशभित्रै अवसर उपलब्ध गराउने नीति अवलम्बन गरियो भने विदेश पलायनको समस्या कम हुन सक्छ। ग्रामीण र शहरी क्षेत्रबीचको असमानता घटाउँदै समावेशी र सन्तुलित विकासको मार्ग अपनाइयो भने सम्पूर्ण नागरिकले समान अवसर पाउनेछन्। अन्ततः निर्वाचनको सार्थकता जनताको सचेत निर्णयमा निर्भर गर्छ। यदि मतदाताले विवेकपूर्ण रूपमा योग्य नेतृत्व चयन गरे भने फागुन २१ पछिको नेपाल थप स्थिर, समुन्नत र आशावादी राष्ट्रका रूपमा अघि बढ्नेछ भन्ने मेरो दृढ विश्वास छ।

सैलेश खिउजु
सुर्यविनायक-५,भक्तपुर

थुप्रै चुनौतिहरु बीच नेपाल सरकारले फाल्गुण २१ मा देशभर निर्वाचन गर्न गइरहेको छ। यसमा प्रमुख चुनौति भनेको शान्ति सुरक्षा र भयरहित वातावरण निर्माण गर्नु नै हो। तथापि यो विद्रोहबाट जन्मेको निर्वाचन हो। यो असामान्य परिस्थितिबाट जन्मेको निर्वाचनको अपेक्षा पनि असामान्य नै हुन्छ। देशले तीव्र आर्थिक विकास र सुशासन खोजेको छ। तथापि पुराना पात्रलाई हराउन नयाँ पात्रलाई भोट हाल्नुपर्छ र बाँकी आफैमा सुशासन कायम हुन्छ भन्ने नेपाली जनताको बुझाई पनि पाइन्छ। यसबाट पनि निकास हुँदैन। देश विकासको स्पष्ट रोडम्याप विनाको खोक्रो बाचाले फरि पनि नेपाली जन्ताको अपेक्षा निराशामा परिणत हुने सम्भावना छ।

नयाँ आउने सभामा बौद्धिक व्यक्तिहरु जस्तै डा युवराज संग्रौलाको आगमन र संसदमा रचनात्मक हस्तक्षेप रहनु आवश्यक हुन्छ। निर्वाचन पछि संवैधानिक व्यस्थामा केहि हेरफेर हुन सक्ने अनुमान ‍गरिएको छ। अबको राजनीति देश विकास तर्फ केन्द्रित हुनुपर्छ। देशले युगान्तकारी फड्को मार्नुपर्छ। यसका लागि साझा राजनैतिक सहमति तथा प्रतिबद्धता, बौद्धिक वर्गको हस्तक्षेप, विकास बजेटको प्रभावकारी सदुपयोग तथा संविधानको केहि प्रावधानहरुको संशोधन हुनु आवश्यक छ। नेपाल रहे नै नेपाली रहने भावना आत्मासात गर्नुपर्छ।

दीक्षा दवाडी
भक्तपुर

फागुन २१ गते हुन गइरहेको निर्वाचन असामान्य र असाधारण परिस्थितिमा हुन गइरहेको निर्वाचन हो। २००७ सालमा राणा शासनको अन्त्य भई लोकतन्त्रको स्थापना भएदेखि नेपालमा जनताको मताधिकार चुनावी प्रक्रियाबाट लिने चलनको सुरुवात भएको हो। विगतमा भएका अनेकौँ राजनीतिक परिवर्तन तथा अन्य निर्वाचनहरू जस्तै यस निर्वाचनसँग नेपालीहरूको परिवर्तनको आशा जोडिएको छ। नेपाली जनताले नयाँ पार्टीहरूसँग ठूलो आस लगाएका छन्।
तर मलाई यस निर्वाचनदेखि परिवर्तनको अपेक्षाभन्दा बढी निर्वाचनसम्म देश जाने परिस्थिति र भाद्रमा भएको घटनालाई हल्कामा लिएर, गम्भीरपूर्वक रूपमा अनुसन्धान नगरी, देशका मूल समस्याहरू जस्तै भ्रष्टाचार, राजनीतिक अस्थिरता, बेरोजगारी, इत्यादिको जरा कारणहरू बारे खोजी नगरी, नीति निर्माण नगरी, सो घटनाको अनुसन्धान प्रतिवेदन बाहिर ननिकाली, र धेरै पत्रपत्रिकामा आएको त्यस घटनामा भएको विदेशी हस्तक्षेपबारे अनुसन्धान नगरी जुन प्रकारले अवस्थालाई सामान्यकरण गरेर देश चुनावी माहोलमा होमिएको छ त्यसले देशको समस्याहरूको निकास दिँदैन भन्ने निष्कर्ष सहित निराशाको अनुभव बढी भएको छ।
नेपालको भूराजनीति जटिल परिस्थितिमा फस्दै गएको र नेपालका नयाँ पुराना पार्टीहरूसँग यो अवस्थालाई असन्तुलित गरेर देशको राष्ट्रिय सुरक्षा र सार्वभौम सत्ताको संरक्षण गर्ने गरी कुनै योजना अनुभव नीति तथा विवेक नदेखिएको अवस्था रहेको हुँदा देशमा राजनीतिक अनिश्चितता पैदा भएको र देशलाई राजनैतिक अस्थिरताको भुमरीबाट निकाल्न सकिने गरी माटो सुहाउँदो व्यवस्थाको परिकल्पना गर्नुपर्ने अवस्था सिर्जना भएको महसुस गर्दछु। मलाई आशा छ कि आजको पुस्ताको सम्पूर्ण युवाहरूले, विद्यार्थीहरूले, मिडिया वा सोसल मिडियामा मात्र फैलाइएका न्यारेटिभहरूलाई नबोकिकन देशको साँच्चैको समस्याहरू र त्यसको निकासहरू बारे खोज अनुसन्धान र छलफल गरेर भविष्यमा जस्तोसुकै सरकार बनेपनि त्यसलाई जवाफदेही बनाउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने मौलिक तथा माटो सुहाउँदो व्यवस्थासहितको देश बनाउनको लागि योगदान दिन सक्ने जनशक्ति बन्नमा केन्द्रित रहुन् र आगामी दिन वर्ष दशक शताब्दीमा नेपालीहरूले रगत बगाउनुपर्ने अवस्थाको सृजना कहिले पनि नहोस् भन्ने विचार राख्न चाहन्छु।

सृष्टि अधिकारी
टोखा,काठमाडौँ

यही मिति २०८२/ ११ /२१ गते हुने निर्वाचनलाई नयाँ समृद्ध नेपाल,विकासको नयाँ मोडल ,पुराना दलहरूबाट उन्नति प्रगति हुन नसकेको विकास निर्माण र प्रविधिको प्रयोग गरी परिपूर्ण सहित परिवर्तनको अग्ररूप अर्थात् परिवर्तनको संवाहकको रूपमा हेरेको छु। आफ्नो तर्फबाट मूल्याङ्कन गर्दा नेपालको उज्ज्वल भविष्य, विकासको छलाङको रुपमा हेरेको छु।

पहिलो तहमा ,मैले राखेको अपेक्षा भनेको स्थायी सरकार हो। स्थायी सरकार भएमा नीति तर्जुमा, नीति कार्यान्वयन कानुन बनाउने देखि लिएर कानुन कार्यान्वयन गर्न सहजता हुन्छ र विकासका रूपरेखा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ। उक्त निर्वाचनलाई नियाल्दा आगामी दिनहरूमा नेपालले गर्ने विकासको उचाई आगामी निर्वाचनमा उठेका प्रतिनिधिहरू सँग जोडिएको हुँदा उक्त प्रतिनिधिहरू पढे,लेखेका, सम्मानित व्यक्तित्व उठेको हुँदा उक्त व्यक्तिद्वारा शासन र राज्य सञ्चालन गर्दा बौद्धिकता ,कार्य विभाजनको तौल तरिका, समयको सदुपयोग, उचित ठाउँ , समय र निचोड, पारदर्शीता देखिने अपेक्षा राखेको छु।यस अनुसार शिक्षा, स्वास्थ्य ,खानेपानी ,बाटो ,नयाँ ढाँचाको विकास हुँदै जान्छ। नेपालको पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण कुना कब्जा मा रहेको नेपालीहरूमा खुसीको लहर फागुन २१ पछिको निर्वाचनपछि हुन्छ। दूरदराजमा रहेका नेपालीहरू खानेपानी, बेरोजगारी, शिक्षा ,स्वास्थ्यमा विशेष सुधार हुन्छ। विज्ञ सहितको टोली विकासको लागि देशले पाउँछ ,परिवर्तनको खुड्किला चढ्न नेपालले थाल्दछ भन्ने अपेक्षा गर्दछु। प्राय प्रतिनिधिहरू नयाँ पुस्ता ,नयाँ सोच, नयाँ शिक्षा, नयाँ विकासको प्रविधि ,विषयगत विज्ञ व्यक्तिहरू निर्वाचनमा उठेको र केही गर्छु भन्ने हुटहुटी निर्वाचनको प्रचारप्रसारमा देखिएको हुनाले नयाँ मोडलमा नेपालको परिवर्तन हुन्छ भन्ने अनुमान गरेको छु।

धेरै शहिदहरूले बलिदान दिएर दुई वर्षअघि नै हुन पुगेको यो निर्वाचनमा जेनजी विद्रोहको मुख्य माग भ्रष्टाचार रहित समाजको निर्माण होस्। चुनिएका व्यक्तिहरूले आफ्ना बौद्धिकतालाई व्यवहारमा उतारुन, पारदर्शिता कायम गरुन् ।जसरी भोट माग्न अहिले जनताको घर घरै समस्या सुन्न हरेक प्रतिनिधिहरु गाउँ गाउँमा घुमिरहेका छन्, बाटो नभएका ठाउँमा गई दिदीबहिनी ,दाजुभाइ ,आमा बुवाको दुःख सुनेका छन् त्यसरी संसदमा पुगेपछि हरेक एक, दुई महिनामा त्यहाँ पुगुन् , समस्या समाधान गर्ने क्षेत्रमा पुगेपछि समाधान गरुन् ।प्रतिनिधिहरू हाम्रा मालिक होइन, हामीले हाम्रा लागि चुनेको प्रतिनिधि हुन्।

परिवर्तनको अनुमान मैले गर्दा फेरि खासै सकारात्मक परिवर्तनको अनुमान गरेको छैन। पुरानै राज्य सञ्चालन विधिबाट राज्यमा पुरानै नेताको कार्यशैली र तरिका ,आफ्नो ढिपीपनले विकासको फड्को नमारेको नेपाल, बेरोजगारी र भ्रष्टाचार मुक्त बनाउन नसक्नुको कारण जनताको फ्रस्ट्रेसनको उपज जेन्जी विद्रोह भई नयाँ पार्टी रा सो पा बहुमतले जित्ने अनुमान लगाउन सकिन्छ ।यस पार्टीसँग स्पष्ट भिजन, विचार ,एजेन्डा देखिँदैन, यस अर्थमा पनि पहिलाकै राजनीतिक पृष्ठभूमिमा भएको कार्यशैली नदोहोरिएला भन्न सकिन्न ।उठेका प्रतिनिधिहरू प्राय वृद्धिजीवि ,आफ्ना क्षेत्रमा अवल भए तापनि विचार, एजेन्डा बिना त्यो बौद्धिकता व्यवहारमा देख्न सकिँदैन ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू