spot_img

समुद्री सुरक्षाका लागि रुसले जहाजमा नौसेनाको सुरक्षा कवच राख्ने

spot_img

पश्चिमा देशहरूसँगको बढ्दो तनावका बीच रुसले आफ्ना मालवाहक जहाजहरूलाई कुनै पनि हालतमा रोक्न वा जफत गर्न नदिने स्पष्ट पारेको छ ।

क्रेमलिनका उच्च अधिकारी निकोलाई पात्रुशेभको अध्यक्षतामा रहेको रुसी समुद्री बोर्डले नयाँ निर्देशिका जारी गरेको छ । यसअन्तर्गत अब रुसी मालवाहक जहाजहरूलाई रुसी नौसेनाको ‘सुरक्षा कवच’ प्राप्त हुने बताइएको छ ।

यो निर्णय किन लिइयो ?
विगत केही महिनादेखि बेलायत, फ्रान्स, बेल्जियम र स्वीडेनजस्ता देशहरूले रुसी तेल र सामान बोकेका जहाजहरूलाई बीच समुद्रमा रोक्न सुरु गरेका छन् ।

हालै बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो नौसेनालाई संदिग्ध रुसी जहाजहरूलाई हिरासतमा लिन खुला छुट दिएका थिए । रुसले यसलाई आफ्नो व्यापारमाथि भएको प्रत्यक्ष हमलाका रूपमा लिएको छ ।

जहाज जफत गर्ने डर मात्र नभई, रुसी जहाजहरूमाथि समुद्री ड्रोन आक्रमणहरू पनि बढेका छन् । बिहीबार मात्रै ब्ल्याक सागरमा टर्कीको ट्यांकर ‘अल्तुरा’मा ड्रोन हमला भयो, जसले इन्जिन रुममा ठुलो क्षति पुर्‍याएको थियो । मार्च महिनाको सुरुमा युक्रेनी गुप्तचर एजेन्सीले एक रुसी ट्यांकरलाई पनि निसाना बनाएको थियो ।

यी खतराहरूलाई मध्यनजर गर्दै रुसले अब ‘मोबाइल फायर सपोर्ट युनिट्स’ तैनात गर्ने निर्णय गरेको छ । यसको अर्थ अब रुसी मालवाहक जहाजहरूमा हतियारधारी सैन्य टोली तैनाथ गरिनेछ, जसले कुनै पनि आक्रमणको कडा जवाफ दिनेछन् ।

रुसको यो निर्णयको प्रत्यक्ष असर भारत र चीनजस्ता देशहरूमा पर्ने बताइएको छ । पश्भिम एसियाको संकट र होर्मुज जलमार्गको नाकाबन्दीका बीच रुसले आफ्नो अर्थतन्त्र बचाउन भारत र चीनलाई लगातार कच्चा तेल आपूर्ति गरिरहेको छ ।

रुसले आफ्ना ‘स्याडो फ्लिट’ (दर्ता नभएका जहाजहरू)लाई सुरक्षा दिएर एसियाली ग्राहकहरूसम्म सामान पुर्‍याउन सुनिश्चित गर्न चाहन्छ ।

विशेषज्ञहरूका अनुसार, रुसको यो निर्णयले समुद्रमा तनावलाई चरम सीमामा पुर्‍याउन सक्छ । यदि रुसी नौसेनाले स्कर्टिङ गरेको जहाजलाई पश्चिमा देशहरूले रोक्ने प्रयास गरेमा, यो सिधै दुई ठुला सैन्य शक्तिहरूबीचको युद्धको कारण बन्न सक्ने बताइएको छ ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू