इरान र अमेरिकाबीच परमाणु कार्यक्रमलाई लिएर जेनेभामा भएको नयाँ चरणको वार्ता बिना निष्कर्ष समाप्त भएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बैठक तीन घण्टासम्म चलेको थियो । मंगलबार भएको यो वार्ता परमाणु मुद्दामा दुई देशबीच दोस्रो चरणमा छलफल भएको थियो ।
इरानले स्ट्रेट अफ हर्मोजतर्फ फायरिङ अभ्यास सुरु गरी मिसाइलहरू प्रहार गरेको छ । उसले हर्मोज स्ट्रेटलाई अस्थायी रूपमा बन्द गरिदिएको छ, जसका कारण यस क्षेत्रमा तनाव व्याप्त छ ।
अर्कोतर्फ, अमेरिकाले पनि यस क्षेत्रमा आफ्नो सैन्य शक्ति बढाइरहेको छ । यी परिस्थितिहरूका बीच भएको यस बैठकमा विश्वभरको ध्यान केन्द्रित भएको छ ।
इरानले आफ्नो अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’ले फारस र ओमानको खाडीस्थित हर्मोज स्ट्रेटमा अभ्यास सुरु गरेको घोषणा गरेको छ ।
इरानको भित्री भाग तथा त्यसका तट र टापुहरूबाट प्रहार गरिएका मिसाइलहरूले हर्मोज समुद्री जलमार्गमा रहेका आफ्ना लक्ष्यहरू भेटेका छन् । यो जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुन्छ ।
उता, जेनेभामा इरान केवल परमाणु कार्यक्रममा मात्र वार्ता गर्ने पक्षमा रह्यो भने अमेरिकाले आन्तरिक तथा क्षेत्रीय मुद्दाहरूमा पनि छलफल गर्न चाहेको छ ।
इरानको यो अभ्यास अमेरिकी सैन्य शक्तिको विरोधमा केन्द्रित रहेको बताइएको छ । अमेरिकाले यहाँ आफ्ना दुईवटा युद्धपोत तैनाथ गरेको छ । इरानी युद्ध अभ्याससँग सम्बन्धित एउटा रेडियो सन्देश हर्मोज स्ट्रेटको उत्तरी हिस्साबाट गुज्रिरहेका नौसैनिकहरूले पनि प्राप्त गरेका छन् । इरानको तर्फबाट यो दोस्रो चेतावनी थियो ।
इरानी विदेश मन्त्रालयले भनेको छ, “जेनेभामा परमाणु मुद्दामा भएको वार्तामा केही प्रगति भएको छ, तर अझै कुनै स्पष्टताको संकेत मिलेको छैन ।”
अमेरिकी दूत स्टिभ विटकफ र जेरेड कुश्नरले इरानी विदेशमन्त्री अब्बास आराघचीसँग ओमानको मध्यस्थतामा वार्ता गरेका थिए ।
एक अमेरिकी अधिकारीले भने, “प्रगति भएको छ, तर अझै धेरै मुद्दाहरूमा छलफल बाँकी छ । इरानले आगामी दुई हप्तामा हाम्रो दृष्टिकोणमा रहेका केही कमीहरू हटाउन विस्तृत प्रस्तावसहित आउन भनेको छ ।”न्युयोर्क टाइम्सबाट



