देशलाई माया गर्नु वा देशप्रतिको माया, सद्भाव नै देशप्रेम हो, आफ्नो देशप्रतिको सकारात्मक भाव वा अनुभूति चाहिँ राष्ट्रियता । यी दुवै भाव हुन् । देश जातिवाचक नाम शब्दमा प्रेम भाववाचक शब्द मिलेर देशप्रेम शब्दको निर्माण भएको छ । आफू जन्मेको भूमि वा आफ्नो मौलिक पहिचान भएको देश नै आफ्नो देश हो यसप्रति प्रेम गर्नु सबै नागरिकको कर्तव्य हो भन्ने कुरा चाहिँ राष्ट्रियताको लय हो । देशप्रेम तथा राष्ट्रप्रेमभित्र देशप्रतिको श्रद्धा, माया, नागरिक हुनुको गर्वबोध, सद्भाव, सद्विचार, सहयोगको भावना, सहिष्णुता, मौलिक संस्कृतिको गौरव, प्राकृतिक सुन्दरताको मोह, जातीय एकताको भावना, देशको गौरवमय इतिहास, अखण्डताप्रतिको मोह, संस्कृत मोह, भाषाप्रतिको प्रेम जस्ता यावत् कुरा समेटिएका हुन्छन् ।
देशका बारेमा नेपाली बृहत् शब्दकोशमा एकै प्रणालीको शासनअन्तर्गतको निश्चित भू–भाग, राष्ट्र, चारैतिर फैलिई अनेकौं गाउँ, शहर, जिल्ला, अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग, मुलुक, ठाउँ वा स्थान भनिएको छ भने प्रेम शब्दको बारेमा कुनै विषय, वस्तु वा व्यक्तिको स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा त्यसप्रतिको लगाव नै हो । देशको भक्ति गर्नु र राष्ट्रभक्तिको जगेर्ना गर्नु पनि राष्ट्रिय साहित्यको मूल दायित्व हो ।
आफ्नो देशप्रतिको निस्वार्थ प्रेमले देशवासीमा देशको माया जगाउँछ । देशप्रतिको राम्रो भावनाले देशप्रेमको अभिवृद्धि गर्छ । देशप्रतिको मायाको परिभाषा देशप्रतिको प्रेमले गर्न सकिन्छ । हामी सबै मिलेर भाइचारा र मायाले बाँचौं भन्ने सन्देश देशवासीलाई दिन पनि देशप्रेम चाहिन्छ । देशका हरेक व्यक्तिले देशको हितको लागि सोच्ने हो भने एक दिन हाम्रो देश अरू देशको तुलनामा धेरै गुणा बलियो र विकसित हुन्छ । देशप्रेममा सबैभन्दा पहिले आफ्नो मौलिक संस्कृतिप्रति मोह अर्थात् लगाव हुनुपर्दछ ।
मौलिक संस्कृतिप्रतिको मोह
निश्चित भूभागमा निश्चित प्रकारको संस्कृति हुन्छ । त्यसैले क्नैपनि देशको आफ्नै मौलिक संस्कृति छ । त्यो त्यस देशको आफ्नो पहिचान पनि हो । संस्कृति व्यापक एवम् विशद् विषय हो । सबै देशका आ–आफ्नै संस्कृति हुन्छ यसलाई मानिसको समग्र जीवनपद्धतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ, किनभने संस्कृति मानव निर्मित वस्तु हो । सुरुसुरुमा गाँस, बास र कपासको पूर्तिका लागि मानिसले अनेक तरहका व्यवहारहरू गर्ने क्रममा सोही अनुसारको वस्तु, खाना र पहिरन संस्कृतिको निर्माण भयो । त्यसको निरन्तरता अनवरत छ र रहिरहने छ । यसको अतिरिक्त मनोरञ्जनमूलक संस्कृति, भक्ति र स्तुतिमूलक संस्कृतिको समेत विकास हुन पुग्यो । यसरी सरलताबाट प्रारम्भ भएको सांस्कृतिक परम्परा वर्तमान समयमा भने अत्यन्त जटिल बन्दै गएको पाइन्छ । संस्कृतिलाई पहिले पहिले खानपिन, नाचगान, चाडपर्व, धर्मकर्म, वेशभूषा आदिका रूपमा मात्र बुझिन्थ्यो । वर्तमान समयमा भने संस्कृतिले व्यापक क्षेत्र ओगट्छ । जसलाई पालना गर्नु, गराउनु देशप्रेम हो ।
मानिस जन्मँदा संस्कृतिविहिन भएर जन्मन्छ तर उसले बिस्तारै आफ्ना उमेर, विवेक, ज्ञान र रुचि अनुसारको संस्कृतिलाई अवलम्बन गर्दै जाने गर्दछ । यसको लागि सामाजिक गतिविधि र परम्पराले ठुलो प्रभाव पार्दछ । आफू जन्मेको देश त्यहाँको संस्कार र संस्कृतिको प्रभाव रहिरहन्छ र त्यसलाई जोगाउनु महŒव हुन्छ किनभने व्यक्ति–व्यक्ति मिलेर परिवार र परिवार परिवार मिलेर समाजको निर्माण भएको हुन्छ । त्यसैले हरेक व्यक्ति समाजको अङ्ग हो भने समाज व्यक्ति र परिवारको सामूहिक रूप हो, त्यसैले कुनै पनि व्यक्ति सामाजिक गतिविधिबाट अलग रहेर बाँच्न सक्दैन । फलतः उसमा समाजको गहिरो प्रभाव पर्दछ । संस्कृति निरन्तर रूपमा परिवर्तन भइरहने हुनाले यसको स्वरूप र आयामलाई नियाल्न सहज छैन । जीवनयापनका क्रममा देखापर्दै जाने रहर, आवश्यकता, बाध्यता, अभाव, उन्नति, प्रगति, तथा विकास र चेतनाका गतिहरूले संस्कृतिलाई परिवर्तन गर्दै लाने हुनाले यसको गति र क्षतिलाई पहिल्याउन कठिन हुन्छ । बसाइँसराई, मिश्रित सामाजिक संरचना, आर्थिक अवस्था विज्ञान र प्रविधिको विकास, बदलिंदो राजनैतिक परिवर्तन, विश्वव्यापीकरण आदिका कारण संसार सानो गाउँ भएको छ । विश्वको कुनै पनि कुनाको सूचना क्षणभरमा अर्को कुनामा पुग्दछ । वर्तमान समयमा संसारभरमा मानिसहरू विश्वका हरेक मुलुकमा छरिएर बसोबास गर्न थालेका छन् । यसरी एउटा समाजका संस्कृति, एउटा मुलुकका संस्कृति अर्को समाज वा मुलुकमा तुरुन्तै पुग्ने कारण पनि एक अर्को संस्कृतिमा व्यापक पर्दछ । हिजो बाँच्नका लागि खाने संस्कृतिको निर्माण भएको थियो भने आज खानाकै लागि खाने संस्कृतिको विकास भएको छ । हिजो आवश्यक काम परेको बेला मात्र घुमफिर गरिन्थ्यो भने आज केवल घुमफिरकै उद्देश्यले यात्रा गरिन्छ । हिजो रमाइलोको लागि नाचगान गरिन्थ्यो भने आज पेसाको रूपमा पनि नाचगान गरिन्छ । हिजो महिनांै हिंडेर पुग्ने ठाउँमा आज घण्टामा पुग्न सकिन्छ । यसरी हेर्दा के देखिन्छ भने समयको गतिसँगै, मानिसको चेतनाको विकाससँगै संस्कृतिको निर्माण हुँदै जान्छ । त्यसैले संस्कृति अझ व्यापक बन्दै गएको छ । संस्कृतिको स्वरूप विकासको गतिसँगै भिन्न रूपमा पैmलावट हुने हुनाले यसलाई व्याख्या, विश्लेषण गर्न सहज छैन ।
प्राचीन समयमा एउटा निश्चित भू–भागमा विद्यमान संस्कृति सोही ठाउँमा सीमित हुन्थ्यो भने आज कुनै पनि प्रख्यात संस्कृति तुरुन्तै विश्वभर पैmलन पुग्छ । सांस्कृतिक प्रभाव विशेषतः शक्ति सम्पन्न राष्ट्रहरूको संस्कृतिको प्रभाव विपन्न राष्ट्रहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पर्ने गर्दछ । यसरी हेर्दा के देखिन्छ भने वर्तमान समयमा संस्कृतिको स्वरूप व्यापक रूपमा विस्तारित भएको छ । हिजो चिठीपत्र लेख्ने हुलाकी संस्कृति, आकाशवाणी, टेलिफोन, पेजर हुँदै मोबाइल संस्कृतिमा पुगेको छ । यसरी नै चोक, बजार, मेला, हाटमा हेरिने सुनिने नाचगान, गीत, सङ्गीत नाट्यशाला, सिनेमाघर टेलिभिजन हुँदै मोबाइलमार्पmत् हातहातमा आइपुगेको छ । विज्ञान र प्रविधिको कारण मान्छेको परम्परित हजारौं संस्कृतिहरू विस्थापित भएर नयाँ नयाँ संस्कृतिको निर्माण हुन पुगेको छ । यसरी के भन्न सकिन्छ भने संस्कृतिले दिनानुदिन आफ्ना स्वरूपलाई निरन्तर परिवर्तन गरिरहेको छ । यसको रूपान्तरण गरेर भएपनि आफ्नो मौलिकपन जोगाउनु पर्दछ तर विलयन हुन दिनु कदापि हुँदैन् ।
राष्ट्रभाषाप्रतिको मोह
भाषा सञ्चारको माध्यम हो । देशभित्रका नागरिक वा जनतालाई एकतामा बाँध्न र कामकाज सहज बनाउनका लागि कुनै पनि राष्ट्रले कामकाजका लागि आफ्नो मौलिक भाषा निर्माण गरेको ह्ुन्छ त्यो नै राष्ट्रभाषा हो । यस्तै जुनसुकै राज्य वा राष्ट्रको निमित्त पनि त्यस राज्य वा राष्ट्रमा आबाद रहेका अधिकांश नागरिकहरूले बोल्ने गरेको एउटा छुट्टै बोली वा भाषा पनि अत्यावश्यक मानिन्छ । यस्तो बोली वा भाषा त्यस राज्य वा राष्ट्रको राष्ट्र–भाषा हुन्छ, देशको भाषा हुन्छ । जुनसुकै राज्य वा राष्ट्रमा पनि एउटै बोली वा भाषाको मात्र बोलबाला हुनुपर्दछ भन्ने खासै नियम त छैन, तर पनि राष्ट्रिय एकताको निमित्त एउटा राज्य वा राष्ट्रमा एउटैमात्र राष्ट्रभाषा हुनु अत्यावश्यक मानिँदै आइएको छ । यो राज्य वा राष्ट्रको अर्को एउटा प्रमुख अङ्गको रूपमा रहेको हुन्छ ।
शासनसंस्था वा सरकारलाई राज्य वा राष्ट्ररूपी पुरुषको कर्मेन्द्रिय अर्थात् हात– खुट्टा मान्ने हो भने राष्ट्रभाषा त्यस पुरुषको मुखरूपी अर्को कर्मेन्द्रिय हो । शासनसंस्था वा सरकारले आफ्ना अन्य अङ्गहरूको सहायताले साम, दान, भेद तथा दण्ड नीतिहरूको प्रयोग गरी राज्य वा राष्ट्रको सुरक्षाको साथै समुन्नतिको निमित्त भरसक प्रयास गर्ने गर्दछ । यो राज्य वा राष्ट्रको प्रमुख कर्तव्य हो । तर राज्य वा राष्ट्रका अन्य कर्तव्यहरू पनि हुन्छन् । आपसमा सद्भाव तथा एकता कायम गरी समग्र देशवासीका बिचमा राष्ट्रिय एकता कायम गर्ने काममा त्यस राज्य वा राष्ट्रको राष्ट्रभाषाले परोक्षरूपमा नै भएपनि महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।
मौखिक रूपमा आपसी सद्भाव तथा सहमति कायम भएर पनि जसरी हात तथा खुट्टाहरू नभएका मानिसहरू मात्र जम्मा भएर मुखहरूद्वारा आपसमा सद्भाव तथा एकता कायम गरी अगाडि बढ्नको निमित्त जत्तिकै प्रयास गरेपनि तिनीहरूबाट मात्र राष्ट्ररक्षाको काम हुन सक्दैन, त्यसैगरी शारीरिक जीउडाल स्वस्थ राष्ट्रियताका अन्य अङ्गहरूको पनि हुने हुन्छ । देशप्रेमभित्र भाषाप्रेम पनि हुन्छ । आफ्ना नागरिकहरूको आफ्नो देशमा विकास तथा विस्तार भएका सभ्यता, संस्कृति र कला–कौशलहरूको पनि रक्षा गर्दै रहन सक्छ, यसको एउटा राम्रो उदाहरण भएर हाम्रो आफ्नै देश वा राष्ट्र नेपाल रहेको पाइन्छ । भाषाका माध्यमबाट देशप्रतिको प्रेम बढ्दै जान्छ । आफ्नो स्वतन्त्र राष्ट्रभाषाको अभावमा नागरिकहरूका बिचमा रहेको राष्ट्रिय एकताको भावना क्रमशः शिथिल हुँदै जान्छ । विश्वका प्राणी समूहमा अन्य प्राणी के खाएर मात्र नअघाउने र मस्तिष्कलाई चाहिने अद्भुत प्राणी हो मान्छे । साहित्य र संस्कृतिले उसलाई दिने गर्छ तर साहित्य शाश्वत र सार्वभौम पनि हुन्छ ।
आफ्नो जातीयताप्रतिको मोह
जातीयता एक सापेक्षित परिभाषित शब्द हो । यसले बृहत्तम् अर्थमा सम्पूर्ण कुनै एक थरीका जाति तथा निश्चित भूगोलमा बसोबास गर्ने समुदाय भन्ने पर्दछ । राष्ट्र–राष्ट्रका सन्दर्भमा जस्तै नेपाली जातीयता शब्दसित सान्निध्य राख्ने गर्छ । नेपाली जातीय शब्दले कुनै एक विशेष श्रेणी समूहको बोध गराउने हुनाले यस्तो जातीयतालाई चित्रण गर्न सकिन्छ । यस्तो जातीयता भाषा, संस्कृति, वेशभूषा, रहनसहन, परम्परा र जीवनशैलीका आधारमा बेग्लाबेग्लै हुने हुनाले आफ्नो देशमा बसोबास गर्नेले जातीयताप्रति गर्व गर्दछ त्यहाँ देशप्रेमको भावना जोडिएर आएको हुन्छ । नेपाली जातीय चेतना भन्नाले नेपाली भाषा, संस्कृति, सामाजिकता, अर्थनीतिसहित त्यो भाषाभाषीले निर्भीकतापूर्वक जीवनयापन गर्दै आफ्ना आकाङ्क्षाहरूलाई परिपूर्ति गर्दै लैजाने सम्पूर्ण परिवेशको बोध गराउँछ । नेपालमा बसोबास गर्ने नेपालीको नेपाली भाषा, संस्कृति, सामाजिकता, अर्थनीतिसहित त्यो भाषाभाषीले निर्भीकतापूर्वक जीवनयापन गर्दै आफ्ना आकाङ्क्षाहरूलाई परिपूर्ति गर्दै लैजाने सम्पूर्ण परिवेशको बोध गराउँछ । नेपाल देशप्रति प्रेम भएकोले जनताको भाषा, संस्कृति, अर्थनीति, सामाजिकता आदि कुरामा आफ्नो पहिचान प्राप्त हुने गर्दछ । अतः यस्तै परिवेश र परिस्थितिमा साहित्यका माध्यमबाट जातीय गौरव गाथाको स्मरण गराउँदै र भविष्यको स्वअस्तित्व छुटै चिनारी विशेषताको छवि स्पष्ट पार्ने हेतुले नेपाली साहित्यमा साहित्यकारहरूले जातीय सचेतता कायम राख्ने आग्रह आफ्ना रचनाहरूमा परोक्ष र अपरोक्ष रूपमा गर्दछन् ।
धार्मिक सहिष्णुता
नेपाल बहुधार्मिक मुलुक हो । संविधानमा धर्म निरपेक्ष मुलुक भनी सम्बोधित गरिएको छ । नेपालमा हिन्दु, बौद्ध, इस्लाम, ईसाइ, शिख, जैन आदि धर्मावलम्बीहरू बसोबास गर्दछन् । यी सबै धर्मावलम्बीहरूले एकअर्काका धर्मलाई सम्मान गर्दै आफ्नो धर्म र कर्म गर्दै आएका छन् । नेपाली समाजमा पनि आस्था, विचारधारा र शिक्षाको विविधिता छ । परम्परागत रूपमा प्रचलित एवम् पाश्चात्य प्रभावस्वरूप निर्मित नेपाली समाजको आस्था मूलतः अलौकिक शक्तिसँग रहेको छ । ईश्वरवाद यसको आधार बनेको छ । परन्तु बहुदेववादी विचारसँगै एक देवको आस्था पनि यहाँ पाइन्छ । नेपाली संस्कृतिमा रहेको धार्मिक विचारधारा नै यस प्रकारका आस्थाको स्रोत हो । हिन्दु, बौद्ध, इस्लाम, इसाई, सिख जैन र अन्य धार्मिक मत सम्प्रदायहरूको उपस्थितिले दर्शाउने विविधतालाई धेरैले अस्वीकार गरेको पाइन्छ । विश्वासको विविधतामा आस्था राख्ने जन समुदायहरू हाम्रो मुलुकमा रहदैं आएका छन् । त्यसैले नेपाली सभ्यता र संस्कृतिका सन्दर्भमा कुनै एक जातिविशेषको योगदानलाई बढाइचढाइ गर्नु अनुपयुक्त हुन्छ र यहाँ प्रचलित धार्मिक विश्वासहरूका सन्दर्भमा पनि मात्राका हिसाबले धेरै थोरै जे भए तापनि हिन्दु, बौद्ध, इस्लाम, इसाई, सिख, जैन र अन्य आस्थामा बाँधिएका जातीय समूहलाई देशप्रतिको माया वा प्रेम अटल रहेको छ ।
धार्मिक आस्था मानव संस्कृतिको एउटा अङ्ग बनेको छ । खासगरी अलौकिक शक्तिसत्ताको काल्पनिक विचारद्वारा मानिसलाई आत्मिक शान्ति दिने साधन बनेर धार्मिक विचारहरू, कला, साहित्य र सङ्गीतहरू एवम् त्यसद्वारा सुदृढ पारिएका आस्थाहरू अडेका छन् । सङ्ख्यात्मक दृष्टिबाट हेर्दा हिन्दु आस्था नेपाली समाजको एउटा मुख्य सांस्कृतिक शिक्षा बन्न पुगेको छ । हिन्दु आस्था नेपाली संस्कृतिको मात्र अङ्ग नभएर भारतीय संस्कृतिको पनि अङ्ग बनेको छ । हिन्दु दर्शन, विचारधारा र त्यसद्वारा निर्मित धार्मिक आस्थाको जन्मथलो भारत हो । भारतको सांस्कृतिक इतिहासमा हिन्दुवाद धार्मिक विचारधाराका रूपमा स्थापित छ । लौकिक जीवनशैली जातीय एवम् देशीय छन् । भौगोलिक वातावरण र आर्थिक परिवेशले मानिसको जीवनशैली प्रभावित हुन्छ । तराईमा दोचा लगाइँदैन, हिमालमा कमिज कुर्ताको काम छैन । प्रकृति र जीवनको सम्बन्ध जस्तै – संस्कृति र समाज अटुट सम्बन्धमा रहिआएको छ । सामाजिक रीति, परम्परा, सोचाइ र सदाचार समयसँगै बदलिदै आएका छन् । नत्य नवीन प्रभाव ग्रहण गर्दै हाम्रो संस्कृति हुर्किरहेको छ । कैयौं पुराना मान्यताहरू बदलिइसकेका छन् र कतिपय बदलिने प्रक्रियामा छन् । पुरानो विचार, व्यवहार र संस्कारसँग नयाँ विचार व्यवहार र संस्कारको द्वन्द्व सदैव चलिरहेको हुन्छ । विश्वास र सन्देहको द्वन्द्वमा ज्ञानले पाइला अगि बढाउँछ, तर्कले तथ्य केलाउँछ र सत्य निरूपण गर्दछ । तर समाजले स्थापित गरेका कैयौँ झुटहरू र त्यसमा आधारित सिर्जनाले सांस्कृतिक मूल्य प्राप्त गरेपछि ती हाम्रा सम्पदाको रूपमा रहन पुग्दछन् । लोकतान्त्रिक मूल्य मान्यतामा रहनु, श्रमशीलताप्रति आदर भाव राख्नु, सानो ठुलो जातको भावना हटाउनु, जातीय एकतामा लागेर राष्ट्रियताप्रति संवेदनशील हुनु, जस्ता क्रियाकलापले देशप्रेमको भावनामा वृद्धि गराउँदै सबै जातिको सहजीवन, एकता र समृद्धिद्वारा राष्ट्र र राष्ट्रियता तथा देशप्रेमको भावना निर्माण गर्ने मानवीय संस्कृति बन्दछ ।
मौलिक पहिचान
नेपाली भूमि र जनता दुवै विशिष्ट विविधतायुक्त छन् । जीवनपद्धति र संस्कृति विविधतापूर्ण छन् । भाषा, साहित्य, कला, पर्यावरण, उत्पादन यातायातको अवस्थामा विविधता छ । जनताको बसोबास, बसाइँसराई स्वास्थ्यसेवाको पहुँच फरक–फरक छ । त्यसैले साझा भावनामा परस्पर नबिउझेसम्म तराईले पहाड र पहाडले हिमाली भूखण्डको कठिनाई महशुस गर्न सक्दैन । हाम्रो संस्कृतिले यो देखाउन सक्नुपर्दछ । व्यापक जनतालाई देशभक्तिपूर्ण निष्ठामा जागृत गर्न काम नेपाल राष्ट्र र नेपाली राष्ट्रियता रक्षा र संवर्धनका लागि तत्काल गर्नुपर्ने काम भइसकेको छ । आज राज्या पुनसंरचनासँगै संस्कृतिको पनि पुनर्संरचना गर्नुपर्ने खाँचो छ । अतीतको रक्षा र अतीतबाट मुक्ति संस्कृतिका क्षेत्रमा निरन्तर चल्ने द्वन्द्वको कारण बनेको हुन्छ । यही द्वन्द्वका क्रममा जनहितकारी पक्षलाई जनताले रक्षा गर्दछन् । राज्यले जनताको भावनालाई ठिकसँग प्रतिनिधित्व ग¥यो भने जनकल्याणको त्यो तŒव व्यापक मात्रामा सुरक्षित हुन्छ, असल सांस्कृतिक परम्पराले निरन्तरता पाउँछ । पुरातन र नूतनको सम्बन्ध कायम हुन्छ ।
देशप्रेमको सन्दर्भमा जातीय कला, भाषा, रीतिथिति, खानपिन, पहिरन र साहित्य गीत, नाचजस्ता कुराहरूको विशिष्ट स्थान रहेको हुन्छ । लिखित साहित्य र अलिखित साहित्यको परम्परा सबैमा समान हुँदैन । भाषाको क्षमता पनि असमान हुन्छ । त्यति भएर पनि ती कुराहरूमा सम्बन्धित जातिको अपनत्व हुन्छ । हाम्रो देशले लामो समयदेखि विभिन्न शासनकालमा फरक–फरक खालका सांस्कृतिक नीतिहरू अंगालेको पाइन्छ । सांस्कृतिक समन्वयको ठोस योजना, प्रोत्साहन र संरक्षणका लागि काम गर्ने सरकार कुन रह्यो भन्ने पक्षमा विचार गर्दा सुस्पष्ट आधार प्रमाणका साथ किटान गर्न सकिने अवस्था छैन । ठोस एवम् बहुआयामिक सांस्कृतिक नीति निर्माण नगर्ने हो भने नेपाली राष्ट्रियताको रक्षा र संवद्र्धन कार्य अघि बढ्न सक्ने छैन । अन्तरजातीय एकता र सद्भाव प्रवद्र्धन नगरी हाम्रो जस्तो जातीय बनोट रहेका मुलुकले राष्ट्रियता सुदृढ गर्न सकेको छैन । मुलुकको सार्वभौम स्वतन्त्रता र अखण्डता गुमाएका घटनाहरूले पनि यस विषयमा राज्य सञ्चालक अगुवाहरूलाई सचेत बनाएकै हुनुपर्ने हो । बाइसौं शताब्दीको द्वारमा खडा भएका नेताहरू बुद्धिजीवी एवम् संस्कृतिकर्मीहरूले देशप्रेमको भावनामा रहेर काम गर्नुपर्छ । देशको मौलिक पहिचान, भाषा, संस्कृतिका पक्षमा काम गर्नुपर्छ । जसद्वारा आम नागरिकमा देश मेरो हो भन्ने देशभक्तिको भावनाको विकास हुन्छ ।
नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यहाँ विभिन्न जातजातिका मानिस बसोबास गर्दछन् । तिनको जातीय पृष्ठभूमि पनि भिन्न छ तर संस्कृति भने समान पाइन्छ । विभिन्न जातजातिका आआफ्नै जातीय संस्कार रहेकाले तिनीहरूको जीवनशैलीमा पनि फरकपन पाउन सकिन्छ । नेपालका भूगोल भित्र र भूगोल बाहिर बसोबास गरेका नेपालीहरूले आफ्नो धर्म संस्कृतिको पालना गरिरहेका देखिन्छन् ।
पूर्वीय संस्कार र सभ्यताका धरोहरका रूपमा रहेको नेपाली संस्कृतिमा आफूभन्दा ठुलालाई आदर सम्मान गर्ने र आफूभन्दा सानालाई माया गर्ने संस्कृति पाइन्छ । जात, वर्ण, लिङ्ग र धर्मअनुसार कसैलाई भेदभाव नगरी समान व्यवहार गर्ने परिपाटिको विकास भएको पाइन्छ भने मातृदेवो भवः, पितृदेवो भवः, गुरुदेवो भव ः भन्दै माता, पिता र गुरुलाई देवताका रूपमा मान्ने संस्कृति पाइन्छ । वृद्धवृद्धाको सेवा गर्ने, मठमन्दिरको भ्रमण गरी पूजाआजा र दान दिने प्रचलन परम्परादेखि चलिआएकाले नेपाली संस्कृतिमा धार्मिक सहिष्णुता पाइन्छ । वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया जस्ता सर्वजन हितायको सूक्तिलाई आत्मसात् गर्दै मानवतावादी विचारलाई विश्व माझ पु¥याउन नेपाली संस्कृति सफल रहेको छ । कसैलाई पनि दुख नदिने, चोरी ठगी फट्याइँ नगर्ने जस्ता वेद निर्देशित आचरणलाई आत्मसात् गर्दै वीर गोर्खालीका नामले विश्व परिचित नेपालीको गौरवगाथाले नेपालको सांस्कृतिक परम्परालाई उचो बनाएको छ । सरल र सुखी जीवनशैलीका कारण आनन्दपूर्वक बाँच्न सफल नेपाली जाति हिमाल आरोहण गर्ने कला कौशलमा पनि अग्रस्थानमा छ ।
बुद्धको जन्मभूमि र सगरमाथाको देशका रूपमा विश्वमाझ परिचित नेपाल जलस्रोतका दृष्टिले विश्वको दोस्रो धनी देशको गणनामा रहेको छ भने प्रकृति पूजा र जीवजन्तुलाई देवताको रूपमा मान्ने संस्कृतिका कारण वातावरण जोगाउने संस्कृतिमा नेपाल निकै अगाडि छ । विश्वमा वीर गोर्खालीको नामले परिचित नेपालीहरू आफ्नो पौरख र गौरवमा बाँचेका छन् । विश्व बन्धुत्व र भातृत्वका भावना लिएर विश्वका विभिन्न देशमा पुगेका नेपालीहरूले आफ्नो देशको नाम उचो राख्नमा विशेष भूमिका निर्वाह गरेका छन् । विशवमा शान्ति स्थापनाका लागि भगवान् गौतम बुद्धको उपदेशलाई पु¥याई सबैलाई शान्त र सुखी बनाउने अभियानमा नेपाली संस्कृतिको अहम् भूमिका निर्वाह गरेको छ । यसरी आफ्नो कला, संस्कृति, धर्म, भाषाका माध्यमबाट विश्वका सबै मानिसमा छुट्टै पहिचान बनाउन सफल नेपाली संस्कृतिले नेपाली जातिको गरिमालाई सधैं उचो बनाएको छ ।
यसरी देशप्रेम वा राष्ट्रियताभित्र देशका विभिन्न कुराहरू आएका हुन्छन् । राष्ट्रियताले आफू जन्मेको जन्मभूमि, त्यहाँको भाषा संस्कृति, कला तथा देशको प्राकृतिक चित्रणका साथसाथै मानवीय सम्बन्धलाई आत्मसात् गरेको हुन्छ भन्नेमा दुईमत छैन ।
चन्द्रागिरि,काठमाडौं



