काठमाण्डाै – वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रूपमा लिइने यस क्षेत्रलाई महत्त्व दिइए पनि स्रोत र साधनको अभावमा अपेक्षित प्रगति हुन भने सकेको छैन । आयोजना जिम्मा लिने, समयमा काम नगर्ने प्रवृत्ति निर्माण व्यवसायीमा मौलाएको छ ।
यस्तै नौ लाख बढी नागरिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतीक्षामा छन् । सवारी चालक अनुमतिपत्रको नवीकरणमा पनि उस्तै समस्या छ । प्रस्तुत छ देशको समग्र यातायात क्षेत्र र भौतिक पूर्वाधारका क्षेत्रमा केन्द्रित रहेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग गरिएकाे अन्तर्वार्ताको सम्पादित अंश :
नागढुङ्गा–सिस्नेखोला सुरुङको ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ हुँदैछ, बाँकी काम कहिलेसम्म पूरा होला ?
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘रेस्क्यु टनेल’ (उद्धार सुरुङ) को आज ‘ब्रेक थ्रु’ हुने भएको छ । विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यु टनेल’ आज खनिसकिने छ । आज दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो । साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘रेस्क्यु टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । दुई दशमलव छ किलाेमिटर लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको छ । चार महिनाभित्र मुख्य टनेल खुल्छ । आउँदाे क वर्षभित्र यहाँ गाडी चलाउन सकिन्छ ।
देशका अन्य ठाउँमा पनि सुरुङमार्ग निर्माण गर्ने कुरा धेरै वर्षदेखि चर्चामा आए पनि निर्माणमा देखिएको ढिलाइप्रति यहाँको टिप्पणी के छ ?
देश सुरुङमार्गको युगमा प्रवेश गरेको छ । यातायातका लागि सुरुङ निर्माण शुरु भएको छ । नमुना आयोजनाका रूपमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण भइरहेको छ । देशका अन्य ठाउँमा पनि सुरुङमार्ग आयोजनाको सम्भाव्यता अध्ययन गर्ने र अगाडि बढाउने क्रममा छौँ ।