रङ्गीन सुनाखरीको मोहकतामा,
दृष्टि लोभिनु त केवल सतही सत्य हो।
परबाट देखिने पूर्णता, सायद, शून्यतामा उनिएको
एउटा मिठाे भ्रम मात्र हो।
हाे ! सुनाखरी हुनुको अर्थ—
खस्रा र कठोर बोक्राहरूलाई चिर्नु हो,
पत्रे चट्टानका अन्धकार गल्छेडाभित्र
अस्तित्वको जरा गाड्न संघर्ष गर्नु हो।
नजिकबाट नियाल्दा मात्र ज्ञात हुन्छ—
त्यो मुस्कान त एउटा भीषण युद्धको प्रतिफल रहेछ।
अहो !
यी लोभलाग्दा पुष्पहरू,
जसले मानवीय चेतलाई मन्त्रमुग्ध पारिरहेका छन्।
तर सोध एकपटक ती काँडाहरूलाई—
गुलाफले सुगन्ध सन्चय गर्न
कति पटक आफूलाई क्षत-विक्षत बनायो?
हेर ती गुराँसका जर्जर हाँगाहरूलाई—
एउटा ऋतुको उत्कर्ष पाउन, कति शिशिरहरूमा आफूलाई रित्यायो?
हो,
फूलको नियति र
मान्छेको कथा उस्तै छ—
बाहिर हाँसोको आवरण सजाएर
भित्र आँसुको भङ्गालो थुन्नु पर्ने।
फुल्नु— अब रहर रहेन
यो त एउटा कठोर स्वधर्म भयो
साँघुरो गमला होस् या विशाल पहाड,
खुम्चिने र हार मान्ने छुट कसैलाई छैन।
वक्षस्थलमा दुःखको पर्वत थिचिए पनि, सृष्टिको रङ्गमञ्चमा मुस्कुराउनु नै
हाम्रो अन्तिम सत्य हो।
निराशाका लामा प्रहरहरूले
थाके पनि आँखा
अनुहारमा दीप्तिको लेपन लगाउनै पर्छ।
जसरी ती बाङ्गाटिङ्गा रूखहरूले
आफ्नो कुरूपता लुकाएर
गुराँसको लालित्य पस्कन्छन् ।
यहाँ आफ्नै पीडाको महासागरमा
पौडिएर पनि
फूल बनेर फुलिरहेकै हुन्छ
हरेक मानिस !
०००



