काठमाडौं। संगीत, शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले लेखक तथा संगीतकर्मी क्षितिज कुलुङ द्वारा लिखित ‘म्युजिक एजुकेसन’ पुस्तक सार्वजनिक गरिएको छ।
विभिन्न गीतका स्वर, लय, ताल, रचना, वाद्यवादन, भाषाशैली तथा भावबोधका विषयलाई समेटेर तयार गरिएको उक्त पुस्तक संगीत क्षेत्रमा अध्ययन, अनुसन्धान तथा शिक्षणका लागि उपयोगी हुने विश्वास गरिएको छ।
पुस्तकमा संगीतका आधारभूत सिद्धान्तदेखि व्यवहारिक पक्षसम्मका विषयलाई सरल र सहज भाषामा प्रस्तुत गरिएको लेखक कुलुङले जानकारी दिए। कार्यक्रममा सहभागीहरूले नेपाली संगीत क्षेत्रको विकास, संरक्षण तथा नयाँ पुस्तामा संगीत शिक्षाको पहुँच विस्तार गर्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा संगीतकर्मी, साहित्यकार, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पुस्तकले नेपाली संगीतको अध्ययन र अनुसन्धानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
लेखक कुलुङका अनुसार ‘म्युजिक एजुकेसन’ पुस्तक संगीत शिक्षक, विद्यार्थी, कलाकार तथा संगीतप्रेमीहरूका लागि उपयोगी सामग्रीका रूपमा तयार गरिएको हो। पुस्तकले संगीतको सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई एकै स्थानमा समेटेको बताइएको छ।
कार्यक्रममा वक्ताहरूले नेपाली संगीत, संस्कृति र मौलिक पहिचानको संरक्षणमा यस्ता कृतिहरूको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै लेखकलाई शुभकामना व्यक्त गरेका थिए।



