काठमाडौँ: नेपाल प्रिमियर लिग (NPL) को जारी तेस्रो संस्करण अन्तर्गत टियु क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा साविक विजेता लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३१ बलमा ३८ रनको सर्वाधिक योगदान दिए भने निरसन डिकवेलाले २७ रन र आसिफ शेख तथा दिलीप नाथले समान २१/२१ रन बनाए। जनकपुरका तर्फबाट राहुल यादव र विशाल सुस्लिङले २-२ विकेट लिएका थिए।
१५० रनको विजय लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो। जनकपुरका लागि कप्तान हरमीत सिंहले सर्वाधिक ३३ रन, आदित्य महताले अविजित ३० रन र सेफ हसनले २८ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। लुम्बिनीको बलिङमा डी’आर्सी सर्टले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने तिलक राज भण्डारी र शेर मल्लले २-२ विकेट हात पारे।शानदार ब्याटिङ प्रदर्शन गरेका लुम्बिनीका कप्तान रोहित पौडेल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। यो जितसँगै लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ।






